भोलिदेखि देशभर थोत्रा गाडी चलाउन प्रतिबन्ध



काठमाडौं । सरकारले भोलि बुधबारदेखि देशैभर अहिलेसम्म सञ्चालनमा रहेका २० वर्ष पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध गरेको छ ।

यातायात व्यवस्था विभागले २० वर्षे सवारी प्रयोग गरेको फेला परेमा ठाउँको ठाउँमै कारबाही गर्दै गाडी स्क्र्याप (कबाडीमा बिक्री) गराउन लगाउने जनाएको छ ।

विभागले यसअघि २०७३ फागुनदेखि काठमाडौं उपत्यकामा बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उपत्यकामा २० वर्षे सार्वजनिक सवारी प्रयोग बन्द गराउन सफल भएको भन्दै विभागले भोलीबाट देशभरी प्रतिबन्ध लगाउन लागेको हो ।

यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । विभागले २० पुराना सवारी कति प्रयोगमा छन् भनेर तथ्यांक संकलन पनि गरिरहेको छ ।

उपत्यकाभित्र २० सार्वजनिक सवारी प्रगोगमा छैनन् । पुराना सवारी प्रतिबन्ध लगाएको एक सातामै सबै २० वर्ष सवारी हटेको थियो । उपत्यकामा २० वर्षे पुराना सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्धसँगै व्यवसायीले उपत्यका बाहिरको ग्रामीण सडकमा पुराना सवारी प्रयोगमा ल्याएका थिए ।

उपत्यकाबाहिर लगेर प्रयोगमा ल्याइएका २० वर्षे सार्वजनिक सवारी तथा प्रयोगको आज अन्तिम दिन भएको विभागको भनाई छ ।

२० सार्वजनिक सवारी प्रतिबन्धकै निर्णयले उपत्यकामा अहिले आधुनिक र सुविधासम्पन्न ठूला सार्वजनिक सवारी प्रयोगका बढ्दो छ । उपत्यकामा अहिले साझा, महानगर यातायात, मेट्रो, मयुर, भक्तपुर नगर बसु जस्ता दर्जन भन्दा बढी सुविधा सम्पन्न सार्वजनिक यातायातले सेवा दिँर्दै आएका छन् ।

२० वर्षे सार्वजनिक सवारी प्रतिबन्धकै कारण उपत्यकामा सार्वजनिक सवारीको प्रयोगका रूप फेरिएको हो ।

सवारी प्रतिबन्ध सफल बनाउन विभागले ट्राफिक प्रहरी, प्रहरी, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा व्यवसायी सबैको सहयोग मागेको छ । विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ सम्म कुल २७ लाख ८३ हजार चार सय २८ सवारी दर्ता थिए भने अहिले सात महिनामौ २ लाख २६ हजार भन्दाबढी सवारी भित्रिएका छन् ।

त्यसमा पनि सर्वाजनिक सवारीका रूपमा दर्ता भएका सवारीको संख्या डेढ लाख रहेको विभागको अनुमान छ । विभागले बढ्दो प्रदूषण, सवारी दुर्घटना न्यूनीकरण एवं सवारी मालिकको लागत कम गर्न पनि बीसबर्से सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

पुराना सार्वजनिक सवारी प्रतिबन्धबाट आर्थिक वर्ष २०५३/५४ भन्दा पहिले नै सार्वजनिक सवारीका रूपमा दर्ता सबै ‘स्क्र्याप’ हुने विभागको भनाइ छ ।


पुष्प दुलाल