फागुन २५ मै उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका लागि चुनाब हुने



काठमाडौं । यही फागुन २५ अर्थात् पर्सि शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला/नगर उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।

प्रमोद श्रेष्ठले निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्बोच्च अदालतमा हालेको रिट निवेदमा सर्बोच्चले अन्तरिम आदेश नदिएपछि महासंघलाई चुनाब गर्ने बाटो खुलेको हो ।

रिक्त रहेको उपाध्यक्ष पदका लागि व्यवसायीहरु निरक केसी, किशोर प्रधान र प्रकाश साउदले उम्मेद्वारी दर्ता गराएका छन् ।

यसकारण रिक्त भएको थियो

२०७३ चैत २९ गते भएको निर्वाचनमा प्रमोद श्रेष्ठ किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका थिए । तर, ०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ म्याग्दीको बेनी नगरपालिाकाको मेयरमा एमालेका तर्फबाट चुनाब उठेका थिए । श्रेष्ठले मेयरको निर्वाचन हारे ।

महासंघको विधानमा महासंघका पदाधिकारी कुनैपनि राजनीतिक पार्टीको सदस्य हुन र पार्टीको तर्फबाट निर्वाचनमा उठ्न नपाइने व्यवस्था छ । यस्तो गरेमा पदाधिकारीको पद खारेज हुने व्यवस्था छ । सोही व्यवस्था अनसार महासंघ कार्यकारीणी समितिले श्रेष्ठको उपाध्यक्ष पद खारेज गर्दै ०७४ भदौ १९ गते निर्वाचनको मिति तोकेको थियो ।

आफूलाई पदबाट बर्खास्त गरिएको र तोकिएको निर्वाचनको मिति खारेज गर्न माग गर्दै श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले तत्काल निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । र, कारण पेश गर्न श्रेष्ठलाई भनेको थियो ।

तर, श्रेष्ठले कारण पेश गर्न सकेनन् । र, महासंघले फेरि ०७४ फागून २५ गतेका लागि निर्वाचनको मिति तोक्यो ।

महासंघले मिति तोकेपछि श्रेष्ठले फेरि निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । सर्बोच्चले बुधबार श्रेष्ठको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

‘अदालतले निर्वाचन गर्ने बाटो खोलिदिएको छ, अब २५ गते नै निर्वाचन हुन्छ,’ महासंघका एसोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकालले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल