बालेनले मानवअधिकार आयोग पुगेर दिए बयान


फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाका विषयमा बयानका लागि आयोगले बोलाएपछि शाह सोमबार आयोग पुगेका हुन् । आयोगले उनीसँग करिब दुई घण्टा बयान लिएको आयोग स्रोतको भनाइ छ ।

सोधपुछका क्रममा भदौ २३ र २४ गतेका घटनाका बेला उनी कहाँ थिए, सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल समयमा नपुगेको गुनासोजस्ता विषयमा प्रश्न गरिएको थियो। तर, बालेनको सचिवालयका एक सदस्यले भने यसबारे आफूलाई जानकारी नभएको बताए ।

मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार हनन र दमनका विषयमा छुट्टै छानबिन गरिरहेको छ । आयोगका अनुसार हालसम्म १४६ जनासँग बयान लिइसकिएको छ ।

मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन घटनाका विषयमा छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको आयोगको म्याद एक महिना थप गरेको छ । जेनजी आन्दोलनको घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन थप एक महिनाको समय दिएको छ । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

सरकारले गत ५ असोजमा आयोग गठन गर्दै जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन महिनाको समय दिएको थियो। तर आयोगले अहिलेसम्म काम पूरा गरेको छैन । निर्धारित समयमा आयोगले काम पूरा नगरेपछि सरकारले थप एक महिना समय दिएको हो।

आयोगले घटनाका विषयमा सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान लिइसकेको छ। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको भने बयान लिन सकेको छैन ।

ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै हालतमा बयान नदिने बताउँदै आएका छन् । एक टेलिभिजन अनर्वार्तामा ओलीले भनेका छन्, ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि ! यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने.. । यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली ! उहाँहरूसँग छ नि त बन्दुक ! के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरे बापत ।’

Skip This