नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीलाई उडान अनुमति नदिइने



काठमाडौं । नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति रोक्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरेको छ ।

प्राधिकरणले पूर्वाधार अभाव भएको भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा नआएसम्म नयाँ कम्पनीलाई एओसी नदिने तयारी गरेको हो । हाल निजी क्षेत्रबाट अल्पाइन एयर, बीबी एयरवेज र सिम्रिक एयरलाइन्स नयाँ एओसी लिने तयारीमा रहेका छन् ।

प्राधिकरणले पर्किङ वे तथा अन्य पूर्वाधार खडा गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको भन्दै एओसी रोक्ने तयारी थालेको हो । अल्पाइन एयरले सन् १९९८ मा एओसी लिएको थियो । भने बीबी एयरवेजले सन् २०१२ मा एओसी लिएको थियो ।

दुवै एयरलाइन्स कम्पनीले बीचमा उडान रोकेपछि खारेज भएको थियो । उत्त दुई एयरलाइन्सको एयरलाइन्सको इजाजत भने नविकरण हुर्दै आएको छ । बीबीले खर्भर मात्र नेपाल वायुसेवा निगमको बोइङ ७५७ सिरिजको जहाज लिलामीमा खरिद गरेको छ । भने अल्पाइन नयाँ जहाज खरिद प्रक्रियामा रहेको छ ।

यता श्री एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानको लागि अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको छ । मन्त्रालयले लाइसेन्स दिएपनि प्राधिकरणले नयाँ एयरलाइन्सलाई एओसी रोक्ने तयारीमा लागेको छ ।

कुनै पनि एयरलाइन्सले ५ वर्ष आन्तरिक उडान भरेमा सिधै लाइसेन्स दिने व्यवस्था रहेको छ । हाल प्रक्रियामा रहेका कुनै पनि एयरलाइन्सले पाँचवर्ष आन्तरिक उडान भरेका छैनन् । बीबी र अल्पाइन सिधै अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेका छन् भने श्रीले गत वर्षदेखि मात्र आन्तरिक उडान सुरु गरेको हो ।

प्राधिकरणले सन् २०१९ मा भैरहवा विमानस्थल सञ्चालनमा आउने र त्यसपछि मात्रै एओसी जारी गर्ने तर्खरमा रहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमले दुई÷दुई वटा वाइडबडी ठूला जहाज खरिद प्रक्रियामा रहेका छन् ।

हाल ९ वटा मात्रै पार्किङ वे भएकोले नयाँ एयरलाइन्स कम्पनीलाई एओसी दिन नसक्ने प्राधिकरणको भनाई छ । निगमले एयरबस ३३०-२०० सिरिजको दुई थान जहाज आगामी जेठ महिना भित्रै नेपाल ल्याउँदै छ ।

त्यसैगरी हिमालयले पनि दुई थान वाइडबडी एयरबस ३३०–२०० सिरिजकै जहाज नेपाल ल्याउने तयारी गरिहरहेको छ । हाल निगमसंग तीन र हिमालयसंग पनि ३ थान न्यारोबडीका जहाजहरु रहेका छन् ।

त्रिभुवन विमानस्थलमा हाल रात्रीको समयमा मात्रै स्लट खाली रहेकोले नयाँ एयरलाइन्स कम्पनीलाई एओसी दिन नसक्ने प्राधिकरणले बताउँदै आएको छ । प्राधिरणले आन्तरिक एयरलाइन्स कम्पनीलाई समेत एओसी रोक्ने तयारी थालेको छ ।

नयाँ एयरलाइन्स कम्पनीलाई रोक्ने बताएको प्राधिकरण विदेशी एयरलाइन्स कम्पनीलाई भने भटाभट अनुमति दिदैं आएको छ । गत महिना मात्रै वातानिया एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति प्राधिकरणले दिएको थियो ।

हाल नेपालमा २७ वटा विदेशी एयरलाइन्स कम्पनीहरुले उडान भर्दै आएका छन् । भने नेपालका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले मात्रै उडान भर्दै आएका छन् । बुद्धले भने चार्टर उडान मात्रै भर्ने गरेको छ ।


पुष्प दुलाल