श्री एयरलाइन्स अन्तर्राष्ट्रिय उडानको तयारीमा, लाइसेन्स पाउन अझै केही समय कुर्नुपर्ने



काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि प्रक्रिया अगाडि बढाएको छ । गत भदौदेखि ३ वटा जहाजमार्फत आन्तरिक उडान सुरु गरेको श्री ले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लाइसेन्सको लागि निवेदन दिएको छ ।

हाल बम्बार्डियर सिआरजे सिरिजका तीन वटा जेट विमानबाट आन्तरिक उडान गरिरहेको छ । श्री एयरलाइन्ससंग हेलिकप्टरको लागि मात्रै अन्तर्राष्ट्रिय उडानको अनुमति रहेको छ । जहाजमार्फत् उडान भर्नका लागि नयाँ लाइसेन्स लिनुपर्ने हुन्छ ।

श्रीले पहिलो चरणमा क्षेत्रीय उडान गर्ने योजना बनाएको छ । उसले भारतका विभिन्न सहरमा काठमाडौंबाट उडान गर्ने तयारी थालेको श्री एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

‘हामीसँग अहिले सिआरजे–७०० सिरिजका ७० र ९० सिटे विमानबाट रहेकोले सोही विमानमार्फत् भारतका विभिन्न शहरमा उडान गर्ने लक्ष्य हो,’ मानन्धरले भने ।

हाल एउटा ७० सिटे र दुईवटा ५० सिटे विमान भएको श्रीले आगामी दिनमा विमान थप गरेर उडान गर्ने जनाएको छ । नेपालमा अहिले विदेशी एयरलाइन्सको बाहुल्यता हुँदा भाडा महँगो र सेवामा गुणस्तर नभएको भन्दै श्रीले गुणस्तरीय यात्रा सस्तोमा गराउने महात्वाकांक्षी योजना बनाएको छ ।

विदेशी एयरलाइन्सको हिस्सा धेरै भएकोले नेपालबाट बाहिरिने रकम पनि धेरै भएकाले स्वदेशी कम्पनीहरुलाई प्राथमिकता दिइनुपर्ने मानन्धरको भनाई छ ।

‘विदेशबाट नेपाल आउनेलाई भाडा बढेको छ, यहाँ उनीहरुको हिस्सा पनि बढी छ, स्वदेशी कम्पनीलाई प्राथमिकता दिएमा अर्थतन्त्रमै सकारात्मक योगदान पर्नेछ’ उनले भने । नेपालमा सबभन्दा बढी हवाइ मुभमेन्ट भारतसँग रहेको छ । यस्तो अवस्थामा भारतीय तीन र नेपाल एयरलाइन्सले मात्र उडान गरिरहेका छन् ।

अनुमति पाएपछि विमान थप गरी उडान सुरु गर्ने मानन्धरले जानकारी दिए । हेलिकप्टर सेवाबाट आएको एयरलाइन्सले आन्तरिक उडान सुरु गरेको ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडानको लागि अनुमति माग गरेको हो ।

श्रीले यसअघि नै नेपालगन्जलाई क्षेत्रीय विमानस्थल बनाएर आफूहरुलाई त्यहीबाट भारत उडान गर्ने अनुमति दिन प्रस्ताव गरेको थियो ।

अनुमित पाउन समय लाग्ने

श्री एयरलाइन्सले आन्तरिक उडानमा पाँच वर्ष पुरा नगरेकोले सर्त तथा नियमावली (टिओर) अनुसार ओपन विडिङ मार्फत लाइसेन्सको लागि आवेदन दिनुपर्ने हुन्छ ।

हालको सर्त तथा नियमावलीमा पाँच वर्ष आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीहरुले सिधै अन्तर्राष्ट्रिय उडानको लागि अनुमति पाउने व्यवस्था रहेको छ । नयाँको लागि भने सरकारले ओपन विडिङ मार्फत लाइसेन्स दिदैं आएको छ ।

दुई यात्रु र एक कार्गो एयरलाइन्सका लागि आवदेन खुल्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानका लागि आवेदन माग्ने तयारी गरेको छ । वि.स २०६६ यता लाइसेन्सको लागि सरकारले आवदेन मागेको छैन् ।

सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवस्यक सर्त तथा नियमावली (टिओर) को संसोधन गरेपछि मात्रै आवदेन माग्ने तयारी गरेको छ ।

प्रत्येक ३ वर्षमा संसोधन गर्ने भनेपनि २०६६ यता हालसम्म संसोधन गरिएको छैन । मन्त्रालयले तयार पार्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै टिओर कार्यन्वयमा जाने छ ।

सरकारले यसपटक यात्रु बाहकको लागि दुईवटा एयरलाइन्स र एक वटा कार्गोको लागि लाइसेन्स खुल्ला गर्न लागेको हो । कार्गो तर्फ पहिलो पटक सरकारले लाइसेन्स खुल्ला गर्ने तयारी गरेको हो ।

सरकारले आवेदन मागेपछि एयरलाइन्स लाइसेन्स लिन चाहानेहरुले भाग लिन सक्ने छन् । सरकारले तयार पारेको टिओर अनुसार आवेदन दिने र सवै हिसावले उडान गर्न सक्नेलाई छानेर मन्त्रालयले अनुमति जारी गर्ने छ ।

हाल नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगम सहित, हिमालय एयरलाइन्स, बुद्ध एयर, अल्पाइन, बीबी एयरवेज लगायतले अन्तर्राष्ट्रिय उडानको लाइसेन्स लिएका छन् । हिमालय र बुद्धले भने उडान गरिरहेका छन् । हेलिकप्टर तर्फ श्री एयरलाइन्सको मात्रै लाइसेन्स रहेको छ ।


पुष्प दुलाल