केपी ओलीले भने- बामपन्थी सरकारले सेयरमा भ्याट लगाउँदैन



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले बामपन्थीको त्रास देखाएर सेयर बजार घटाइएको भन्दै आफ्नो गंभीर ध्यानाकर्षण भएको बताएका छन् । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीले बापमन्थी सरकार गठन हुनै लाग्दा कामचलाउ सरकारले सेयरमा भ्याट लगाउने षडयन्त्र गरिरहेको आरोप समेत लगाए ।

‘जनाधार गुमाइसकेको र काम चलाउ भइसकेको सरकारले बामपन्थीको सरकार बन्नै लाग्दा सेयरमा भ्याट लगाउने षड्यन्त्र गरिरहेको छ,’ उनले भने, ‘आजसम्म सेयरमा भ्याट लगाउन आवश्यक किन ठानिएन ? र, बामपन्थीको सरकार बन्ने बेलामा किन भ्याट लगाउन खोजिँदैछ ? यसमा हामी गम्भिर भएका छौं ।’

नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई स्वागत गर्न पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब बन्ने बाम सरकार निजी क्षेत्रमैत्री हुने विश्वास दिलाए ।

‘यो सरकारले देशलाई ठूलो आर्थिक भार पर्ने निर्णय गर्दै देश र जनताप्रति बेइमानी गरेको छ, अर्थतन्त्र डामाडोल बनाउन लागेको छ,’ ओलीले भने, ‘त्यस्ता निर्णय अब बन्ने सरकारले उल्ट्याउँछ ।’

बामपन्थी सरकारले लिने नीतिका कारण सेयर बजारमा उछाल आउने ओलीको दाबी छ ।

‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार असाधारणरुपमा बढ्छ,’ उनले भने, ‘नयाँ सरकार बनेका दिन लगानीकर्ताहरुले दिपावली गरे हुन्छ । मिठाइ खाए हुन्छ ।’

कामचलाउ सरकारले गलत मनसायले बजेट र नीति तथा कार्यक्रम भन्दा बाहिरका संविधान, कानून र विधिविधानले गर्न नमिल्ने कामहरु गरेको दाबी गर्दै ओलीले नयाँ सरकारले त्यस्ता निर्णय उल्ट्याउने प्रष्ट पारे ।

‘यो सरकारले देशलाई ठूलो आर्थिक भार पर्ने निर्णय गर्दै देश र जनताप्रति बेइमानी गरेको छ, अर्थतन्त्र डामाडोल बनाउन लागेको छ,’ ओलीले भने, ‘त्यस्ता निर्णय अब बन्ने सरकारले उल्ट्याउँछ ।’

कांग्रेसले आफूले राष्ट्रको ढुकुटी बढाएको दाबी गर्न नमिल्ने ओलीको भनाई छ ।

‘कांग्रेस यसरी पैसा बाँड्न सक्नेगरीको देशको ढुकुटी आफुले बनाएको पो भन्छ, आफैंले पैसा हालेजस्तो,’ उनले भने ।

सेयर बजारका लगानीकर्ताहरुमाझ कांग्रेसले अफबाह फैलाएको ओलीले आरोप लगाए ।

‘बामपन्थीको सरकार बन्यो भने लोकतन्त्र रहँदैन, आर्थिक उदारीकरण रहँदैन, यस्तो हुन्छ, तेस्तो हुन्छ भन्दै नियोजितरुपमा हाम्रा विरुद्धमा अपबाफ फैलाइरहेको छ,’ उनले भने, ‘तपाईहरु विश्वस्त हुनुहोस्, हामी जिन्दगीभर लोकतन्त्रका लागि लडेर आएका हौं ।’

राजनीतिक अधिकार प्राप्तिको लडाईं सकिएको भन्दै अब मुलुकको गन्तब्य सामाजिक न्यायसतिको समाजबाद भएको उनको भनाई थियो ।

‘हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो, अबसर दिने हो । कांग्रेसको जस्तो आर्थिक उदारीकरणका नाममा सरकारी उद्योग बेचेर कमिशन खाने होइन,’ उनले भने ।


पुष्प दुलाल