भारतमा राहुलले सम्हाले काँग्रेसको कमाण्ड, नेपालमा पाउलान् त गगन र विश्वप्रकाशले ?



काठमाडौं । नेपालमा सत्तारुढ दल नेपाली काँग्रेसले अप्रत्यासित रुपमा निर्वाचनमा हार भोगेपनि नेतृत्व परिवर्तनको विषयमा सामान्य चर्चा हुन सकेको छैन । तर भारतमा काँग्रेस आईलाई त्राण दिने अचूक अस्त्र भन्दै राहुल गान्धीलाई पार्टीको अध्यक्षमा निर्वाचित गरिएको छ ।

भारतीय जनता पार्टीको लहरका कारण रक्षात्मक अवस्थामा पुगेको काँग्रेस आईले पुराना नेताहरुलाई विस्थापन गर्दै राहुललाई अध्यक्ष बनाएको छ । भारतमा अब काँग्रेस आईलाई गान्धी परिवारका राहुललेमात्रै नेतृत्व गर्न सक्छन् भन्ने जनमत बढ्दै गएको छ ।

लोकतन्त्रको नाममा भाजपा र विशेष गरी नरेन्द्र मोदीको सामाजिक फासीवादको कारण भारतमा भाजपाको जनमत क्रमशः खिइँदै जाने संकेतहरु देखा परेका छन् । काँग्रेस आइ जसरी र जुन हदसम्म तल झर्नुपर्ने थियो झरीसकेको छ । नेपालमा २०६४ सालपछि ओरालो लागेको माओवादी जस्तै झर्नुपर्ने स्थानसम्म काँग्रेस आइ झरिसकेको छ ।

नेपाली कांग्रेसको हालत पनि काँग्रेस आईकै जस्तो हालतमा पुगेको काँग्रेस जोगाउन गगन थापा जस्ता युवाको खोजी भइरहेको छ । भारतमा राहुलको जस्तै खोजी हुन थालेपनि गगनलाई काँग्रेसको बागडोर सम्हाल्न दिने पक्षमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल प्रकाशमान सिंहहरु तयार छैनन् ।

विधानसभा निर्वाचन होस् वा प्रदेशसभाहरुमा भइरहेका निर्वाचनमा समेत काँग्रेस आइ नराम्ररी पराजित भयो । नेपालमा प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनमा काँग्रेसले व्योहोरेको जस्तै अप्रत्यासित हार काँग्रेस आईले व्योहोरी सकेको छ । काँग्रेसका घघडान नेताहरु पूर्व प्रधानमन्त्री मनमोहन सिंह, सोनिया गान्धीलगायतले काँग्रेसलाई जोगाउन सकेनन् ।

राष्ट्रपति बनेका प्रणव मुर्खजीले समेत काँग्रेसलाई त्राण दिने हो भने राहुलको विकल्प नभएको बताएपछि पूराना र बुढा नेताले पनि अहिले आएर राहुललाई समर्थन गरेका छन् । भारतको कुल जनसंख्या मध्ये ४० प्रतिशत हिस्सा युवाको छ । युवा माझ राहुल लोकप्रिय बन्दै गएका छन् । हिन्दुवादको नाममा मोदीले लोकतन्त्रको दोहन गरेको र फासीवादलाई बढावा दिएको आरोप चर्को रुपमा लाग्न थालेको छ ।

राहुलका लागि मोदी नै बाधक बन्न सक्छन् । सन् २०१९ मा भारतको केन्द्रीय संसद्को निर्वाचन हुन लागिरहेको छ । सो निर्वाचन अगावै देशव्यापी अभियान सुरु गर्ने योजनामा काँग्रेस लागेको छ । संगठन सुधार, युवा परिचालन तथा केन्द्रीय कमाण्ड खडा गरेर आवश्यक तयारी समेत काँग्रेसले सुरु गरिसकेको छ । काँग्रेसका लागि अब मोदी विरुद्ध जवरजस्त अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ, जुन उनका लागि समेत वाध्यता बनीसकेको छ ।

काँग्रेस आईलाई अगाडि बढाउने हो भने युवालाई साथमा लिनै पर्छ भन्ने निष्कर्षमा काँग्रेसको प्रौढ पुस्ता पुगेको छ । भारतमा मोदीको काँग्रेसमुक्त अभियानले पनि सार्थकता पायो । विगतको निर्वाचनमा काँग्रेस आईले प्रतिपक्षको मान्यता समेत पाएन । अनेकन तिकडम र जालझेलका बीच काँग्रेसले कुल सांसद संख्याको दश प्रतिशत पनि पुर्याउन सकेन ।

आज राहुलको पुनरागमन भएको छ । अब राहुलको कमाण्डमा मनमोहन सिंह, प्रणव मुखर्जीले काँग्रेसका लागि निर्वाचन अभियान सञ्चालन गर्नेछन् । सादगी छवीमा मुर्खजी र सिंहले काँग्रेसलाई विचार दिनेछन् । यस्तै राहुलले मोर्चा खोल्नेछन् । अब मोदीको ज्यादती बढ्यो अब काँग्रेस नै हाम्रा लागि हो भन्ने जनमत सिर्जना गर्नेछन् ।

तर राहुलका लागि मोदी विरुद्धको हमला भने तत्कालका लागि ग्राह्य र सहज भने हुने छैन । राज्य सत्ता मोदीको हातमा छ । उनी विश्वका १० शक्तिशाली ठूला नेता मध्ये पाँचौ स्थानमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रसियाली राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति सि जिन पिङ र इजरायली प्रधानमन्त्रीपछि मोदीको नाम आउने गरेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जनमत पनि मोदीको पक्षमा छ । तर घरेलु रुमपा हेर्दा मोदीका सुधारका धेरै कार्यक्रम अगाडि बढ्न सकेका छैनन् । वाक पटुता भएपनि मोदीका सुधार योजना सयौ करोड प्याकेजमा बट्टा अडकिएका छन् । जुन उनका लागि समेत घातक बन्दै गएको छ । दि इकोनोमिस्टले मोदीको सर्जिकल स्ट्राइकलको रुमपा रहेको नोटबन्दीको योजना पनि सोचे जति सफल हुन नसकेको टिप्पणी गरिरहेको छ ।

यता नेपालमा पनि काँग्रेस आईकै जस्तो हालतमा पुगेको काँग्रेस जोगाउन गगन थापा जस्ता युवाको खोजी भइरहेको छ । भारतमा राहुलको जस्तै खोजी हुन थालेपनि गगनलाई काँग्रेसको बागडोर सम्हाल्न दिने पक्षमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल प्रकाशमान सिंहहरु तयार छैनन् । त्यसो त नेतृत्वमाथि प्रश्न उठाएको भन्दै काँग्रेसको संस्थापन पक्षले कारवाहीको डण्डा चलाउनुपर्ने भन्दै मसिनो स्वरमा आवाज प्रवाहित गरेको छ ।

भारतमा काँग्रेस आईको त्राणका लागि राहुल अगाडि सारे जस्तै नेपालमा पनि गगन, विश्वप्रकाश र प्रदीप पौडेलहरु अगाडि सार्दा काँग्रेसको साख जोगिन सक्छ । तर नेपालको काँग्रेस नेतृत्व सोनिया र मनमोहन सिंह जस्तै उदार बन्ला कि नबन्ला त्यो भने आगामी दिनमा नै देखिनेछ ।


पुष्प दुलाल