काठमाडौंका सडकमा फोहोर फाल्दै हुनुहुन्छ ? १ लाख जरिवाना तिर्नुपर्ला




काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहर फाल्नेमाथि जरिवाना तथा कारबाही तिब्र बनाउने भएको छ ।

मंसिर २१ गतेदेखि सहरमा जथाभावी रुपमा फोहोर फाल्नेमाथि जरिवाना तथा कारबाहीलाई तिब्र बनाउन लागिएको महानगरका वातावरण विभाग प्रमुख हरि कुँवरले जानकारी दिए ।

‘सडकमा जथाभावी फोहोर फाल्नेमाथि महानगरले नियमित रुपमा कारबाही गर्ने गरेको छ, निर्वाचन पछि कर्मचारी परिचालन गरेर सडकमा फोहोर फाल्नेको निगरानी गरेर कारबाही थाल्छौंं,’ कुँवरले क्लिकमाण्डूसँग भने ।

फोहोरमैला व्यवस्थपान ऐन २०६८ र फोहोरमैला व्यवस्थापन नियमावली २०७० मा सडकमा फोहोर फाल्नेलाई ५ सय रुपैयाँ देखि १ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । साथै, ३ महिनासम्मको कैद सजाय वा दुवै हुन सक्ने व्यवस्था रहेको उनी बताउँछन् ।

‘होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले साँझको समयमा सडकमा फोहोर फाल्ने गरेका छन्, हामी सडकमा कसैलाई पनि फोहोर फाल्न दिन्नौ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले क्लिन द सिटी अभियान संचालन गरिरहेको छ । सोहि अभियान अन्तरगत महानगरले सडकमा फोहोर फाल्नेमाथि कारबाहीलाई तिब्र बनाउन लागेको हो ।

महानगरले सडक किनारमा डस्टबीन राख्ने तयारी गरिरहेको पनि उनले जानकारी गराए ।


पुष्प दुलाल