कामनपाले भन्यो- हामीलाई नसोधी विकास-निर्माणका काम गर्नेलाई हदैसम्मको कारबाही



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको निर्देशन अटेर गरी महानगरभित्र विकास निर्माणका काम सञ्चालन गरेको भन्दै कडा आपत्ति जनाएको छ ।

सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नगरी आफू खुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म मर्मत नगर्ने नगरेको महानगरको आरोप छ ।

संविधानमा स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले पद बहाली गरेपश्चात् आफ्नो क्षेत्रभित्र सञ्चालित विकास निर्माणका कार्य महानगरपालिकाको समन्वय र सहमतिमा गरिनु पर्ने भनिएको भए पनि त्यसको कार्यावन्य हुन नसकेको महानगरले जनाएको छ ।

यो विषयमा नेपाल सरकार विभिन्न निकायहरुवीच पटक-पटक छलफल भई यसअघि नै सबै पक्षबाट प्रतिवद्धता व्यक्त भएपनि सरोकारवालाहरुले अहिलेसम्म अटेर गरेको महानगरको भनाई छ ।

‘विकास निर्माण कार्यमा महानगरसँग समन्वयन गर्न विषयगत साझेदार निकायसँग पटक पटक लिखित र मौखिक आग्रह गर्दा पनि अटेर भएकोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ‘ सहरी व्यवस्थापनमा आँच आउने काम गर्नेमाथि प्रचलित कानूनबमोजिम हदैसम्मको जरिवाना गरिने छ ।’

सहरभित्र विकास निर्माणका कार्यलाई निर्वाध रुपमा सञ्चालन गर्ने विषयमा काठमाडौं महानगरपालिका सदैव तत्पर रहेको विज्ञप्तीमा उल्लेख छ ।

मूल सडक तथा फुटपाथ लामो समयसम्म मर्मत सम्भार नगर्दा महानगरपालिकाले धुँवा धुलो नियन्त्रण एवं सहरी वातावरणको सुधारका लागि ‘क्लिन द सिटी’’ अभियान र सहरी जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर परेको महानगरले जनाएको छ ।


पुष्प दुलाल