दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो , बेपत्ता बस फेला पर्यो



त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।

दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार मृतकको सनाखत हुनसकेको छैन ।

घाइतेमध्ये २ जनालाई हेलिकप्टरबाट र ७ जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा ९ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइदै छ ।

काठमाडौंँबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो । काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किँएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उनले जानकारी दिए । बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताए ।

बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौंतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।

बसले काठमाडौँंको काउन्टरबाट २८ जना यात्रुको चलानी लिएको देखिन्छ भने दुईजना बीचबाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना रहेको देखिन्छ । शर्माले बाटोमा यात्रु थपेको नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको बताए ।

उनले भने, ‘एक दुई जना बेपत्ता भएको हुनसक्ने अनुमानमा खोजी कार्यलाई जारी राखेका छौं ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटना भए लगत्तैबाट उद्धार कार्यलाई जारी राखेका छन् । रासस


पुष्प दुलाल