पहिलो चरणको निर्वाचनः मतदान केन्द्रमै बमदेखि बुथ कब्जासम्म, कहाँ के भयो ?



काठमाडौं । आइतबार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार करिब ६६ प्रतिशत मत खसेको छ ।

हिमाली जिल्ला भएकाले कतिपय ठाउँमा हिउँ परेकाले मतदाताहरु मत हाल्न पनि गएनन् । छिटफुट घटनाहरु भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण तरिकाले नै सम्पन्न भएको छ ।

यस्ता छ आइतबारको निर्वाचनमा भएका मुख्य घटना

ताप्लेजुङमा मतदान केन्द्रभित्रै बम पड्कियो

ताप्लेजुङको आठराई–त्रिवेणी गाउँपालिकास्थित हाङपाङ मतदान केन्द्रमा मतदानकै क्रममा बम पड्किएको छ । बम पड्किएपछि १ घन्टा मतदान स्थगित भएको थियो । मतदान केन्द्रमा गाडेर राखेको प्रेसर कुकर बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गराउन खोज्दा पड्किएको बताइएको छ ।

तिङ्लाबासी भोट हाल्नै गएनन्

सोलुखुम्बुको तिङ्लाका जनताले निर्वाचन बहिष्कार गरेका छन् । तिङ्लामा २५ सय ७५ मतदाता रहेका र उनीहरु कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राज्य पुनसंरचनामा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका हुन् ।

स्थानीय तहको निर्वाचनमा पनि तिङ्लामा एक मत पनि खसेन । स्थानीयले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन् ।

सिन्धुपाल्चोकमा गोली चल्यो

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्रावि केन्द्रमा वाम र लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको छ ।

उक्त झडपमा परी वडा सदस्य लक्ष्मण अधिकारी गम्भीर घाइते भएका छन् । झडप रोक्न प्रहरीले १ राउण्ड हवाइ फायर गरेको गरेको छ ।

लमजुङमा निर्वाचन अधिकृत बर्खास्त

लमजुङको मध्यनेपाल नगरपालिकाको रामबजारको इशानेश्वर मावि खका मतदान अधिकृत कुमार न्यौपाने बर्खास्तमा परेका छन् ।

मतपत्रमा हस्ताक्षर बिना दिएपछि सो मतदान केन्द्रमा विवाद भएको थियो । मतगणनामा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रले मान्यता पाउदैँन ।

विवादको कारण १ घन्टा मतदान स्थगित भएको थियो । अहिले मतदान फेरी सुरु भइसकेको छ । हस्ताक्षर नभएर मतदान गरिएका मतपत्रहरु मान्य नहुने निर्णय भएको छ ।

जुम्लामा एमालेले ४ सय फर्जीमत हालेको भन्दै कांग्रेसद्वार बहिस्कार

जुम्लाको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले उम्मेदवारले ४ सय बढी फर्जी मत खसालेपछि काँग्रेसका प्रतिनिधि मतगणना स्थल छोडेर हिडेका छन् ।

एमालेका प्रदेशसभा उम्मेदवार पदम बहादुर रोकायले विदेशमा रहेकाहरु, वृद्ध तथा अन्य मतदान स्थलमा नभएका व्यक्तिको परिचयपत्रबाट मतदान गरेपछि काँग्रेसले बहिस्कार गरेका हुन् ।

बझाङमा एमाले कार्यकताले कांग्रेस कार्यकर्तालाई खुकुरी हाने

बझाङको मष्टा गाउँपालिका–३ को मालिका निमावि मतदान केन्द्रमा वडा अध्यक्षले काँग्रेस कार्यकर्तालाई ढुंगा प्रहार गरेर घाइते बनाएका छन् ।

वडा नम्बर –३ का अध्यक्ष टेक बहादुर कठायतले काँग्रेस कार्यकर्ता रामबहादुर धामीको टाउकोमा ढुंगा प्रहार गरि घाइते बनाएका हुन् । उनी एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

धामीको टाउकोमा ७ वटा टाका लागेको बताइएको छ । धामकीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरले धनगढी ल्याएको छ ।

थबाङमा सेनाको स्कर्टिङ

थबाङस्थित २ वटा मतदान केन्द्रसम्म जान नेत्रविक्रमका कार्यकर्ताले अवरोध गर्न खोजेपछि सेनाले स्कर्टिङ गरेर मतदाता ल्याएको छ ।

माओवादीको उदगम थलो मानिने थबाङमा माओवादीबाट चोइटिएर गएको बिप्लप समूहले स्थानीयलाई आतंकित बनाएपछि सेनाले स्कटिङ गरेर मतदातालाई मतदान केन्द्रमा लगेको हो ।

रुकुममा मतपेटिका जलाइयो, मंरि २१ मा फेरि चुनाब

विप्लवका कार्यकर्ताले रुकुमका २ स्थानमा मतपेटिका जलाएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकास्थित वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय मावि चौर केन्द्रमा मतपेटिका जलाइएको हो । जलाइएको स्थानमा मंसिर २१ गते फेरि चुनाब गर्ने निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

हुम्लामा ९ मत मात्रै खस्यो

हुम्लाको चंखेली गाउँपालिकास्थित मखेला मतदान केन्द्रमा ९ जनाले मात्रै मतदान गरेका छन् ।

स्थानीय तह पुनर्संरचना गर्दा वडाको भूगोल विभाजनमा असन्तुष्टि जनाएका स्थानीयले मतदान बहिष्कार गरेपछि ९ जनाले भोट हालेका हुन् ।

रोल्पा र पाँचथर, जहाँ महिलाले नै निर्वाचन सम्पन्न गराए

पाँचथरको फिदिम नगरपालिका वडा नं.३ को निर्वाचन केन्द्रमा र रोल्पाको रोल्पा नगरपालिका १ को तारा मावि बामरुक मतदान केन्द्र महिलाहरुले नै सञ्चालन गरेका छन् ।

ती निर्वाचन क्षेत्रमा निर्वाचन गराउने कर्मचारी र प्रहरी सबै महिला मात्रै थिए ।

११२ र ११५ वर्षका वृद्धाले पनि मत हाले

नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली म्याग्दीको रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षीय खड्कबहादुर भण्डारीले मतदान गरेका छन् ।

धादिङमा लोकतान्त्रिक गठबन्धनले बुथ कब्जा गर्न खोजे

धादिङको खनियाबास गाउँपालिका वडा नं २ मा रहेको बेन्दीदेवी मतदान केन्द्र लोकतान्त्रिक गठबन्धले कब्जा गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेर मतदान सुचारु गराएको छ ।

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई मतदान केन्द्रमा जान नदिएपछि मतदान सुरु भएको थिएन ।

दोलखामा कांग्रेस र एमालेद्वार बुथ कब्जाको प्रयास

दोलखाको विभिन्न स्थानमा दिउसो केही समय तनाब भएको थियो । केही बुथ कांग्रेसले र केही बुथ एमालेले कब्जा गर्ने प्रयास गरेका थिए । तर, प्रहरीले उनीहरुको प्रयासलाई असफल बनाएको छ ।


क्लिकमाण्डू