जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा सर्न भूकम्प पीडितले जग्गा किने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय बमोजिम सरकारको २ लाख रुपैयाँ अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् ।

भौगर्भिक अध्ययनअनुसार नुवाकोटको बिकट उर्लेनीमा रहेका ७१ घर परिवार जोखिमयुक्त वस्तीमा बस्दै आएका छन् ।

उनीहरु मध्ये २४ लाभग्राहीले नुवाकोटस्थित साविकको खरानीटार गाविस (हाल ताँदी गाँउपालिका) मा घर निर्माणका लागि जग्गा छनौट गरेपछि जग्गाधनी र लाभग्राहीको मञ्जुरीमा सरकारको २ लाख रुपैयाँ सहयोगमा ८ रोपनी जग्गा खरिद गरिएको प्राधिकरण कार्यकारी समितिका सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए ।

प्राधिकरणको स्वीकृतीमा जग्गा छनौट गरी सुरक्षित ठाँउको रुपमा रहेको उक्त जग्गा लाभग्राहीको नाममा दर्ता गरिएको छ । उक्त जग्गा खरिदका लागि प्राधिकरणले ४८ लाख रुपैया निकासा गरेको थियो ।

भूगर्भविद्हरुले गरेको अध्ययन अनुसार उक्त स्थान मानव वस्तीका लागि उपयुक्त नभएको पाइएपछि प्राधिकरणले उनीहरुलाई सुरक्षित स्थानमा सार्न पहल शुरु गरेको थियो ।

जोखिममयुक्त वस्तीबाट नयाँ स्थानमा सर्न घडेरी खरिद गरेका लाभग्राहीले सरकारी मापदण्ड पु¥याएर निजी आवास पुनर्निर्माणका लागि थप ३ लाख रुपैया समेत अनुदान पाउनेछन् ।

‘सुरक्षित ठाँउमा घडेरी खरिद गरेका उनीहरुले एकीकृत वस्ती बिकासको अवधारणा अनुसार घर पुनर्निर्माण शुरु गर्नेछन् र एकीकृत वस्ती बिकासका लागि प्रोत्साहन गर्ने प्राधिकरणको नीति अनुसार सरकारले त्यस्तो वस्तीमा सामाजिक पुर्वाधारको समेत बिकास गर्नेछ,’ उनले भने ।

एकीकृत वस्ती बिकास सम्बन्धी कार्यविधि अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा शहरी क्षेत्रमा ३ लाख रुपैयासम्म प्रति घरपरिवारको हिसावले सरकारले पुर्वाधार बिकास लागि खर्च गर्ने व्यवस्था छ ।

२०७४ असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दर्शौ बैठकको निर्णय अनुसार सरकारले जोखमयुक्त वस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो ।


पुष्प दुलाल