दूरसंचार पूर्वाधार बनाउने कम्पनी खोज्न थाल्यो प्राधिकरण




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार पूर्वाधार निर्माण गर्नको लागि कम्पनीहरुसँग प्रस्ताव आव्हान गरेको छ । प्राधिकरणले नेपालमा दूरसंचार पूर्वाधार सेवा संचालनगर्ने गरि इच्छुक कम्पनीहरुसँग प्रस्ताव आव्हान गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार दुई वटा कम्पनीहरुलाई मात्र दूरसंचार पूर्वाधार सेवा प्रदान गर्ने अनुमति दिईने छ । दूरसंचार पूर्वाधारहरु एक आपसमा बाँडफाँट प्रबद्र्धन गर्ने उद्देश्यका साथ नयाँ अनुमतिपत्र दिन लागिएको सूचनामा छ ।

प्राधिकरणले दूरसंचार पूर्वाधार नियमावली २०७४ को दफा ४ अनुसार दूई कम्पनीहरुलाई अनुमतिपत्र दिने गरि सूचनाजारी गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

सार्वजनिक सूचनाअनुसार सो अनुमतिपत्र लिनको लागि आवेदन दिने कम्पनीहरुले प्राधिकरणमा ५० हजार रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन् ।

त्यसैगरि आवेदन दिनेहरुको आवेदन आगामी डिसेम्बर १ तारिख अर्थात पुस १७ गतेसम्म पठाई सक्नुपर्ने छ भने डिसेम्बर १७ तारिखे आवेदनहरु सार्वजनिक गरिने छ ।

दूरसंचार पूर्वाधार सेवा प्रदान गर्न अनुमति लिन चाहने कम्पनीहरुले १८ लाख ७५ हजार रुपैयाँको ३० दिने बैंक धरौटी समेत पेश गर्नुपर्ने छ ।

यसअघि सूचनातथा संचार मन्त्रालयले नेपालमा दूरसंचार पूर्वाधारको विकास र सेवाप्रदान गराउने उद्देश्यका साथ छुट्टै कम्पनी चाहिने भन्दै दूरसंचार पूर्वाधार नियमावली २०७४ जारी गरेको छ । यहि असोजमा राजपत्रमा प्रकाशित सो नियमावलीको अधिनमा रही आगामी दिनमा दूरसंचार सेवा प्रदायक कम्पनीहरुलाई पूर्वाधार उपलब्ध गराउने गरि कम्पनी स्थापना गर्ने र सेवा संचालन गर्न सकिनेछ ।


क्लिकमान्डु