अर्बपति पाण्डेलाई ३ कठ्ठा जमिन हुने प्रचण्डले चुनाब हराउलान् ?



काठमाडौं । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको सबैभन्दा बढी चर्चामा रहेका विभिन्न क्षेत्र मध्ये चितवन क्षेत्र नं ३ पनि हो ।

सो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड चुनावी मैदानमा छन् । विगतमा रोल्पा, काठमाडौं, सिराहाबाट निर्वाचन लडेका र काठमाडौंबाट पराजित भएका प्रचण्डको प्रतिस्पर्धीका रुपमा यतिबेला राप्रपा (प्रजातान्त्रिक) का नेता एवम् वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे पाएका छन् ।

पाण्डे यसअघि चितवन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए । बिहिबार उम्मेदवारी मनोनयनको कार्यक्रम समेत सकिइसकेको छ । आज उम्मेदवारमाथि दावी विरोध भए गर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

आनो गृहजिल्ला भन्दै चुनावी मैदानमा उत्रेका प्रचण्डलाई नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्त उम्मेदवारको रुपमा मैदानमा उतारेको छ । पाण्डेलाई नेपाली काँग्रेसको समर्थन छ ।

गत स्थानीय निर्वाचनमा काँग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले ६ महिना पनि नपुग्दै एमालेसँग बामगठबन्धनदेखि पार्टी एकिकरणकको प्रयास समेत गरेको छ । गत स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरमा पराजित भएका देवी ज्ञवाली प्रचण्डको चुनावी कमाण्डर बनेका छन् ।

कति छ चितवनमा वामगठबन्धनको मत
मतको हिसाबले हेर्दा गत स्थानीय निर्वाचनलाई आधार मान्ने हो एमाले र माओवादी केन्द्रको मत ८ हजार बढी रहेको छ । वाम गठबन्धनमा रहेको एमाले र माओवादी केन्द्रका वडाअध्यक्षको मत विश्लेषण गर्दा लोकतान्त्रिक गठबन्धन भन्दा अगाडि देखिन्छ ।

एमालेले भरतपुरका १९ वटा वडामा कुल २१ हजार ५३९ मत र माडी नगरपालिकाका ९ वटा वडामा कुल चार हजार २३८ मत प्राप्त गरेको थियो । उसको कुल मत २५ हजार ७७७ हुन आउँछ ।

त्यस्तै माओवादीका उम्मेदवारको कुल १९ वडामा १४ हजार ३६४ मत र माडी नगरपालिकामा तीन हजार ७६६ मत पाएका छन् । उसको जम्मा मत १८ हजार १३० रहेको छ । यस क्षेत्रमा वाम गठबन्धनले पाएको जम्मा मत ४३ हजार ९०७ रहेको छ ।

भरतपुरका १९ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत २३ हजार ४८७ हो । माडी नगरपालिकामा कांग्रेसको वडाअध्यक्षले पाएको मत तीन हजार ४३६ हो । यसरी हेर्दा क्षेत्र नम्बर ३ मा कुल मत कांग्रेसको २६ हजार ९२३ हुन्छ ।

वाम गठबन्धनले पाएको मतबाट लोकतान्त्रिक गठबन्धनको मत घटाउँदा ८हजार ६३२ मतले वाम गठबन्धन अगाडि देखिन्छ ।

चितवन क्षेत्र नं ३ मा कुल २८ वटा वडा रहेका छन् । जसमा एमालेका १२ जना वडाअध्यक्ष विजयी भएका वडा छन् । त्यस्तै वाम गठबन्धन अन्तर्गत माओवादी केन्द्रले ६ वटा वडा जितेको छ । कांग्रेसको १० वडा रहेको छ भने राप्रपा २८ वटा वडामा शून्य रहेको छ । भरतपुर महानगरगमा ९ र माडीमा १ गरी कांग्रेसले दस वडा जितेको हो । त्यस्तै भरतपुर महानगरमा ७ र माडीमा ५ गरी एमालेले १२ र भरतपुर महानगरमा ३ र माडीमा ३ गरी माओवादीले ६ वटा वडामा अध्यक्ष जितेको थियो ।

लोकतान्त्रिक गठबन्धनकै राप्रपाका वडा अध्यक्षले भरतपुर महानगरका १९ वडामा पाएको कुल मत ५ हजार २३८ रहेको छ । माडीमा राप्रपाका वडाअध्यक्षले कुल तीन हजार ११४ मत ल्याउँदा यस क्षेत्रमा राप्रपाको मत कुल आठ हजार ३५२ हुन आउँछ । लोकतान्त्रिक गठबन्धनको जम्मा मत ३५ हजार २७५ छ ।

कति छ प्रचण्डको सम्पत्ति
ठूलो सुरक्षा घेरामा हिड्ने पूर्व विद्रोही कमाण्डर समेत रहेका प्रचण्ड दुई पटक प्रधानमन्त्री भएका व्यक्ति हुन् । उनले दोस्रो पटक प्रधानमन्त्री भएको बेला सार्वजनिक गरेको सम्पत्ति विवरणमा चितवनको शिवनगरमा तीन आना जग्गा मात्रै आफ्नो नाममा रहेको देखाएका थिए । उनले सरकारी कोषबाट प्राप्त हुने रकमबाटै आफ्नो खर्च चलेको बताउने गरेका छन् । लाजिम्पाटमा अढाइ तले घरमा बस्ने प्रचण्डले उक्त घरको भाडा मात्रै मासिक १ लाख ५० हजार तिर्ने गरेका छन् ।

प्रधानमन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई भने धेरैले हास्यायपद भन्दै आलोचना समेत गरेका थिए । तीन तोला सुन र तीन कठ्ठा जग्गाको धनी प्रचण्डले त्यसबाहेक आफ्नो नाममा कुनै पनि सम्पत्ति नरहेको बताउने गरेका छन् ।

केही समय पहिले पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्रीको हैसियतबाट आफूले प्राप्त गर्ने सुविधा बाहेक आफूसँग अरु कुनै पनि भौतिक सम्पत्ति नभएको बताएका थिए । तर आम मानिस भने उनको यो भनाइलाई मान्न तयार छैनन् ।

कति छ पाण्डेको सम्पत्ति
यसअघि प्रचण्ड नेतृत्वको सरकारको भूमिसुधार मन्त्री रहेका विक्रम पाण्डे वर्तमान सरकारको वन तथा भूसंरक्षण मन्त्री हुन् ।

मन्त्री पाण्डेको स्वदेशमा मात्रै होइन अमेरिकामा समेत घर रहेको छ । मन्त्री पाण्डेले निर्माण व्यवसायबाट आर्जन गरेको रकमबाट अमेरिकामा घर किनेको बताउने गरेका छन् ।

पाण्डेले करीव ४३ करोड ऋण रहेको देखाएका छन् । उनले काठमाडौं, चितवन र नवलपरासीका महँगा स्थानमा करोडौं मूल्यका जग्गा रहेको विवरण देखाएका छन् । काठमाडौंमा पाण्डेका नाममा ११ रोपनी भन्दा बढी जग्गा छ ।

चितवन र नवलपरासीमा करीव ३० बिघा जमिन देखिएको छ । पाण्डेले खरिद गरेको मूल्यका आधारमा उक्त जग्गा करीव १० करोड बराबरका छन् । मन्त्री पाण्डेले आफ्नो नाममा सवारी साधन देखाइएको छैन । सुन भने एक सय तोला पैतृक सम्पत्तिमा आएको उनले जनाएका छन् । त्यस्तै प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी मन्त्री पाण्डेको करीव ७ करोडको शेयर लगानी छ ।

कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीका मालिक पाण्डेको त्यहाँको लगानी सबै गरेर २७ करोडको शेयर देखाइएको छ ।

पाण्डेले काठमाडौं र चितवन भरतपुरमा गरी ६८ लाख ८९ हजारका चार वटा घर रहेको छ । उनीसँग काठमाडौं, चितवन र नवलपरासीमा गरी २३ स्थानमा ७ करोड २७ लाख १३ हजार ७ सय ५० मुल्यमा जग्गा खरिद गरेको विवरण दिएका छन् ।

काठमाडौं महांकालमा १ सय ७५ दशमल ६ वर्गमिटर जग्गा वकश पाएको पनि विवरण भरेका छन ्। उनीसँग दुई केजी चाँदी छ भने विभिन्न बैंकमा गरी ३४ लाख ६३ हजार १ सय ९९ रकम रहेको छ । चितवनमा कालिका एफएम र कालिका टेलिभिजनसम्म चलाउने पाण्डे १४ कम्पनीका प्रमोटर हुन् ।


क्लिकमान्डु