गच्छेदारको फोरम कांग्रेसमा गाभियो, यस्तो छ पार्टी एकताको सहमतिपत्र



काठमाडौं । बाम एकतासँगै कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउन थालेको छ । बिजय गच्छेदार अध्यक्ष भएको फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच पार्टी एकताका लागि सहमति पत्र तयार भएको छ । सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र फोरमका अध्यक्ष बिजयकुमार गच्छेदारले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिपत्र

मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न अहिले भई रहेको स्पष्ट छ । यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्विकार्य वनाउनु हामी सबैको कर्तव्य हो ।

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम यस कर्तव्यप्रति प्रतिवद्घ रहँदै क्रियाशिल रहने संकल्प गर्दछौं । यस परिप्रेक्षमा संविधान निर्माण गर्दा हामी दुई दलहरु समेत बीच भएको १६ वुँदे सहमतिले पनि संविधानलाई थप स्वीकार्य वनाउने आधार प्रदान गरेको कुरा हामी पुनस्मरणगर्न चाहन्छौं ।

यसै कुरालाई हृदयगंम गर्दै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लीम र सिमान्तकृत समुदाय लगायतको हक, अधिकार सम्वन्धमा नेपाल लोकतान्त्रिक फोरमले उठाउँदै आएका मुद्दालाई सम्वोधन गर्न नेपाली कांग्रेस सदा झैं प्रतिवद्ध छ । यस प्रतिवद्धतालाई मुर्तरुप दिनहामी दुवै दलहरुले संविधान संसोधनको प्रयास व्यवस्थापिका संसदमा ग¥यौं । संविधान संसोधन हुन सकेन, आगामी दिनमा यो कार्य सम्पन्न गर्नु हाम्रो साझा जिम्मेदारी हो ।

लोकतान्त्रिक संस्थाहरुलाई अझ सवल बनाउँदै मुलुकलाई समृद्धितर्फ अघिवढाउने विषयमा हामी दुवै दलको समानमान्यता रहिआएको छ ।

साथै, थरुहट र मधेश आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरुको मुद्दा राजनीतिक हो भन्ने नेपाली कांग्रेसले मानिआएको छ । तसर्थ, यस क्रममा बन्दी हुनु भएका निर्दोष नागरिकहरुको मुद्दाफिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं ।

माथि उल्लेखित आधारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम एक आपसमा एकता गर्न सहमत भएका छौं । एकतापछि कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भातृ/भगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गर्न हामी दुवैदल सहमत छौं ।

शेरवहादुर देउवा                                                                                                         बिजयकुमार गच्छेदार
सभापति, नेपाली कांग्रेस                                                                                           नेपाल लोकतान्त्रिक फोरम


पुष्प दुलाल