भड्किलो भो एनआरएनए चुनाब, अर्ब बढी खर्च



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलन शनिवारदेखि काठमाडौंमा सुरु भएको छ ।

आठौं विश्व सम्मेलनले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्दै छ । यसअघि शेष घले दुई कार्यकाल निर्वाचनबाट अध्यक्षमा चुनिएका थिए । घलेको व्यक्तित्व तथा पूर्वअध्यक्ष जिवा लामिछानेको साथको कारण निर्वाचनमा खर्च भए पनि घलेको पक्षमा सहजै नतिजा गएको थियो ।

यो पटकको निर्वाचनमा अहिलेको कार्यसमितिका उपाध्यक्ष भवन भट्ट,पूर्व उपाध्यक्ष टिबी कार्की तथा आइसीसी सदस्य जमुना गुरुङले उम्मेद्वारी दिएकी छन् । गुरुङ अहिलेको कार्य समितिका अध्यक्ष शेष घलेकी श्रीमती हुन् ।

विधानअनुसार दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था भएपछि घलेले आफ्नी श्रीमतीलाई अगाडि सारेका हुन् । अध्यक्षमा मुख्य प्रतिस्पर्धा भट्ट र गुरुङबीच हुने छ ।

निर्वाचनमा भाग लिनको लागि ७७ देशका करिब २ हजार प्रतिनिधी काठमाडौं आएका छन् ।

सम्मेलनमा अध्यक्षमा उम्मेद्वारी दर्ता गर्नको लागि मात्र साढे ४ हजार अमेरिकी डलर अर्थात साढे ४ लाख नेपाली रुपैयाँ लाग्छ ।

उम्मेद्वारले अमेरिकी डलरमा पैसा बुझाउनुपर्ने व्यवस्था छ । एनआरएनको उपाध्यक्ष र महासचिवको लागि ३ हजार ७५० अमेरिकी डलर शुल्क तोकिएको छ । सचिव र कोषाध्यक्षको लागि ३ हजार १२ हजार, सहकोषाध्यक्षको २ हजार ७३ अमेरिकी डलर शुल्क तोकेको छ ।

यस्तै महिला तथा क्षेत्रिय संयोजकको लागि २ हजार २५० अमेरिकी डलर तथा उपसंयोजकको लागि १५०० डलर उम्मेद्वारी शुल्क तोकिएको छ । आइसीसी सदस्यको लागि १००० अमेरिकी डलर शुल्क तोकिएको छ ।

उम्मेद्वारी दर्तामा नै लाखौ रुपैयाँ खर्च हुने एनआरएनएको भोटरले पनि सदस्यता शुल्क वापत बुझाउनुपर्ने शुल्क खाडी तथा मलेसियाको १०० डलर तथा सबैभन्दा बढी अमेरिकाको लागि २०० डलर रहेको छ ।

अमेरिकाबाट एनआरएनए सम्मेलनमा भाग लिन आएका विजय घिमिरे अमेरिकाबाट आएका प्रतिनिधीको सामान्य खर्च ३ लाख हुने बताउँछन् ।

यसरी हेर्दा औसतमा एकजना भोटर नेपालमा आएर भोट हाल्नको लागि औसतमा २ लाख रुपैयाँ केही नगर्दापनि खर्च हुन्छ । प्रतिनिधीले मात्र नेपाल आउन र मतदाता सूचिमा नाम लेखाउनको लागि ४० करोड रुपैयाँ खर्च हुन्छ । यसमा मतदाता बस्ने शुल्क जोडिएको छैन ।

लामो समय नेपालमा पत्रकारिता गरेका र आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष रहेका घिमिरेले क्लिकमाण्डूसँग भने, ‘एनआरएनए सम्मेलनमा खर्च हुनु स्वभाविक हो ।’

सन् २००३ मा एनआरएन अभियान सुरु हुँदादेखि रिपोटिङ गरेका तथा अहिले प्रतिनिधि भएर आएका घिमिरेको बुझाईमा कमाई बढी भएपछि खर्च हुनु स्वभाविक रहेको बताउँछन् ।

‘१५ वर्षको अवधीमा अमेरिका, युरोप र अष्ट्रेलियामा व्यवसायीको संख्या बढेको छ,’ उनले थपे, ‘जसको प्रभाव चुनावमा देखिएको हो ।’

७७ देशमा फैलिएको एनआरएनएको समन्वयन समितिको बैठकमा जाँदा हुने खर्चको हिसाबले अध्यक्षको उम्मेद्वारले १० करोड रुपैयाँ न्यूनतममा पनि खर्च गर्ने गरेको हुन्छ ।

‘कतिपय प्रतिनिधीले सदस्यता दर्ता र आउने जाने र भाडा वापतको रकम लिएपछि मात्र भोट हाल्ने सदस्य हुन्छन्,’ एक एनआरएनले भने, ‘मलेसिया र खाडी मुलुकमात्र नभएर अमेरिका, युरोप र अष्ट्रेलियाबाट आएका प्रतिनिधीले खर्च तिर्नुपर्छ ।’

यो पटकको उम्मेद्वारमा दुईजना उम्मेद्वार भट्ट र गुरुङले पैसाको प्रवाह नगरिकन खर्च गरेका छन् । भट्ट जापानका व्यवसायी हुन् । २९० वटाभन्दा बढी रेष्टुरेन्टका मालिक भट्टको नेपालमा संचार, उद्योग तथा सेवा मुलक क्षेत्रमा लगानी छ ।

अष्ट्रेलियाका धनी व्यक्तिमा गनिने घले दम्पत्ती झन पैसा खर्च गर्ने मामिलामा पछि पर्ने कुरै भएन ।


पुष्प दुलाल