पश्चिम सेतीमा यसरी दुख दियो चाइनिजले, लाइसेन्स खोस्ने तयारी



काठमाडौं । काम नगर्ने र आयोजना मात्रै ओगटेर बस्ने प्रवृत्तिमा अग्रसर चिनियाँ कम्पनी थ्री गेर्जेजले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा लागि शर्तमाथि शर्त थप्दै लगेपछि ऊर्जा मन्त्रालयले अन्तिम पटक छलफल गर्ने भएको छ ।

उसको उद्देश्य आयोजना होल्ड गर्नेमा मात्रै देखिने उसैका गतिविधिले प्रष्ट पारेपछि मन्त्रालयले एकपटक छलफल गर्न खोजेको हो ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पश्चिम सेतीको प्रवद्र्धकसँग अन्तिम पटक छलफल गर्ने र निर्माणमा जान तयार भए उसलाई सहयोग गर्ने अन्यथा, लाइसेन्स खारेज गरेर अर्को प्रक्रिया सुरु गर्ने चेतावनी दिएका छन् ।

‘आयोजना निर्माण हुने शर्तमा एक पटक छलफल गर्ने तयारी गरिएको छ, त्यसका लागि उक्त कम्पनीका प्रतिनिधिलाई आमन्त्रण पनि गरिएको छ, हेरौं के हुन्छ,’ उनले भने ।

काम नगर्ने हो भने आयोजना होल्ड मात्रै गरेर राख्न दिने पक्षमा मन्त्रालय नरहेको बताइन्छ । एक पछि अर्को महत्वपूर्ण आयोजना विदेशी कम्पनीले होल्ड गर्दै राख्न थालेपछि कडा रवैया अपनाउने नीति मन्त्रालयले अगाडि सारेको छ ।

प्रसारण लाइन मुआब्जाा वितरण तथा स्थानीय प्रभावितको व्यवस्थापनका सम्बन्धमा थ्री गर्जेजले राखेको शर्त पूरा गर्न नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरण तयार भएपछि पुनः नयाँ चार शर्त अगाडि सारेको हो ।

थ्री गर्जेजले लगानी बोर्ड, प्राधिकरणलाई पठाएको पछिल्लो पत्रमा पहिला भएका खर्चको पूँजीकरण, त्यसको महसुल नीति, स्थानीय सेयरको वित्तीय व्यवस्थापनको प्रक्रिया र ऋण लगानीको ग्यारेन्टी प्रमुख शर्तको रुपमा पठाएको छ ।

कुल ७५० मेगावाट क्षमताको आयोजनालाई ६०० मेगावाटमा झार्ने चिनियाँ कम्पनीको प्रस्तावलाई सरकारले यसअघि नै अस्वीकार गरिदिएको छ । आयोजना बहुउद्देश्यि बनाउँदा त्यसबाट चौतर्फी लाभ प्राप्त हुने भएकाले त्यसबाट प्राप्त हुने लाभको सेयरिङका विषयमा समेत थ्री गर्जेजले शर्त अगाडि सारेको थियो ।

नेपाल राष्ट्र बैंकले खर्च पूँजीकरणमा सहमति जनाएपनि प्रक्रियाका बारेमा भने थ्री गर्जेजले प्रष्ट नपारेको कारण निर्णय गर्न नसकिने प्रतिक्रिया दिएको छ ।

आयोजानको आशामा बसेका स्थानीय प्रभावित भने विगत २२ वर्षदेखि गरिबी, अन्धाकारमा बस्न बाध्य छन् । विकास निर्माणको कुनै पनि काम आयोजना प्रभावित क्षेत्रमा हुन सकेको छैन ।


पुष्प दुलाल