म्याग्दीमा कांग्रेसका उम्मेद्वार को को ? (नामावलीसहित)



म्याग्दी । नेपाली काँग्रेस म्याग्दीले प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बिहिबार उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

केहीदिन यता भएको छलफलबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टी सभापति खम्बीर गर्बुजा, यूवा नेता अमृतमान शेरचन रहेका छन् ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ क्याप्टेन मिन बहादुर कार्की, बिमला गौचन, त्रिलोचन विश्वास विकको नाम सिफारिस भएको छ ।ती मध्ये कार्की पार्टी जिल्ला सचिव, गौचन महिला संघकी अध्यक्ष र विक दलित नेता हुन् ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट रेशम बहादुर बानियाँ, नेत्र बहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको छ ।बानियाँ सांसद तथा पार्टीका निर्वतमान सभापति हुन् भने महत र भण्डारी जिल्लास्तरका नेता हुन् ।

क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ मुकुन छन्त्याल, मन कुमारी विश्वकर्मा र क्याप्टेन रविन्द्र गर्बुजाको नाम सिफारिस गरिएको पार्टी सचिव क्याप्टेन मिन बहादुर कार्कीले बताए ।उनका अनुसार क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको छ ।

त्यस्तै समानुपातिकतर्फ तम बहादुर थापा, दिल बहादुर केसी, दिर्घ बहादुर सुनार, कमरा कामी पटेल, उदिम बहादुर पुनको नाम केन्द्रमा पठाइएको छ । यसैबीच निर्वाचनका लागि नेकपा एमाले र माओवादी केन्द्रबिच ६०/४० को भागबण्डामा जिल्लामा समेत दुवै पार्टीबाट उम्मेदवार बन्ने निश्चित जस्तै छ ।

माओवादी केन्द्रले उम्मेदवारको नाम सिफारिस गरेको छ भने नेकपा एमाले अन्तिम चरणमा पुगेको छ । एमाले स्रोतका अनुसार प्रतिनिधि सभामा बैकल्पिक केन्द्रिय सदस्य भुपेन्द्र थापा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठको दावी छ । दुईमध्ये एक संघ र क्षेत्र नम्बर १ को उम्मेदवार बन्ने करिव निश्चित छ भने क्षेत्र नम्बर २ मा सांसद नरदेवी पुनको चर्चा छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल उम्मेदवारको नाम सिफारिस गरिएपछि सुरू भएको छ ।


पुष्प दुलाल