अर्जेन्टिनाको भाग्यको फैसला बुधबार, पराजित भएपनि विश्वकमा छनोट हुनसक्ने



रसियामा आयोजना हुने ‘विश्वकप-२०१८’का लागि अर्जेन्टिना छनोट नहुने अवस्थामा पुगेको छ । शुक्रबार विहान भएको विश्वकप छनोटको खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएसँगै अर्जेन्टिनाको विश्वकप छनोट कठिन मोडमा पुगेको हो ।

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको विश्वकम यात्रा अन्तिम खेलमा तय हुने निश्चित भएको छ । दक्षिण अमेरिकी विश्वकप छनोटको १७ खेल सकिदा अर्जेन्टिना २५ अंकसहित तालिकाको छैठौं स्थानमा छ ।

दक्षिण अमेरिकाबाट विश्वकप छनोटका लागि १० टोली सहभागि छन् । जसमध्ये शीर्ष ४ मा पर्ने टोली विश्वकपका लागि सीधैं छनोट हुनेछ । त्यस्तै, ५औं स्थानमा रहने टोलीले विश्वकप छनोटका लागि न्युजिल्याण्डसँग प्रतिस्प्रर्धा गर्नु पर्ने हुन्छ ।

दक्षिण अमेरिकाबाट छनोटको अन्तिम खेल अगावै ५ पटकको विश्वकप विजेता ब्राजिल सर्वाधिक ३८ अंकसहित विश्वकपका लागि छनोट भईसकेको छ भने, इक्वटेर, बोलिभिया र भेनेजुला विश्वकपमा छनोट नहुने पक्का भईसकेको छ ।

इक्वटेर २० अंक, बोलिभिया १४ अंक र भेनेजुला ०९ अंक छ । ४ औं स्थानमा रहेको पेरुको २५ अंक छ । खेल जितेमा ३ अंक प्राप्त हुने फिफाको नियम छ । त्यसैले अन्तिम खेल मात्र बाँकी रहेको अवस्थामा यी टोलीले शीर्ष ५ भित्र पर्ने छैनन् ।

विश्वकपका लागि ब्राजिल छनोट भईसकेको अवस्थामा दक्षिण अमेरिकाको बाँकी ३ वटा सिधै र एउटा प्लेअफ कोटा ६ वटा टोलीले अन्तिम खेलमा गर्ने प्रदर्शनका आधारमा निर्णय हुन्छ ।

उरुगे २८ अंक सहित दोस्रो स्थानमा छ । चिल्ली र कोलोम्बिया समान २६ अंक सहित तेस्रो र चौथो स्थानमा छन् । यस्तै पेरु र अर्जेन्टिना २५ अंक सहित पाँचौ र छौंटो स्थानमा छन् भने पाराग्वे २४ अंकसहित ७ औं स्थानमा छ ।

हामीले माथि नै भनि सक्यौं विश्वकप छनोटका लागि अब एक खेल मात्र बाँकी छ । अन्तिम खेल आगामि २५ गते बुधबार हुनेछ । सो दिन पाराग्वे र भेनेजुएला, इक्वेडर र अर्जेन्टिना, ब्राजिल र चिल्ली, पेरु र कोलम्बिया, उरुग्वे र बोलिभियाबीच खेल हुनेछ ।

विश्वकपमा छनोटका लागि अर्जेन्टिनालाई अन्तिम खेल जित्नै पर्ने हुन्छ । अन्तिम खेलमा अर्जेन्टिना विजयी भएमा अन्य खेलको नतिजाले पनि शीर्ष ५ मा पर्नबाट रोक्न सकिदैन । सो खेल अर्जेन्टिना अनुकुलको नतिजा आउन नसके पनि अर्जेन्टिाना शीर्ष ५ मा पर्ने सम्भावना भने जिवितै हुन्छ । त्यसका लागि अन्य टोलीको नतिजा अर्जेन्टिना अनुकुलको हुन आवश्यक छ ।

अन्तिम दिन हुने २ टोलीको छनोट खेलले पनि अर्जेन्टिनाको विश्वकपको यात्रा टुङगो लगाउने छ । २६ अंक सहित चौंथो स्थानको टोली कोलम्बिया र २५ अंकसहित ५औं स्थानको पेरुको खेल पनि अन्तिम दिन नै छ ।

सो खेलमा कोलम्बिया ३ गोलभन्दा बढिले विजयी भएमा अर्जेन्टिना इक्वेडरसँग १ गोलको अन्तरले पराजित भएमा गोल अन्तरका आधारमा शीर्ष पाँचमा स्थान बनाउने छ । यस्तो अवस्थाका लागि पाराग्वेले भेनेजुएलालाई पराजित गर्नु हुँदैन । २४ अंकसहित ७ औं स्थानमा रहेको पाराग्वे सो खेलमा विजयी भएमा २७ अंकसहित अर्जेन्टिना भन्दा अगाडि हुन्छ ।


पुष्प दुलाल