माथिल्लो कर्णालीका लागि जिएमआरले लगानी जुटाउन सकेन, फेरि म्याद थप्ने तयारी



काठमाडौं । लगानी जुटाउन असफल भएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको भारतीय प्रवद्र्धक गान्धी माल्लिकार्जुन राव (जिएमआर) को म्याद थप गर्ने तयारी गरिएको छ ।

यसै महिनाको सुरुमा नै जिएमआरको म्याद सकिएको हो । लगानी बोर्डले जिएमआरको म्याद थप गर्ने सम्बन्धी प्रस्ताव तयार पारेको र आगामी साता बस्ने बोर्ड बैठकबाट निर्णय गर्ने तयारी भएको स्रोतको दावी छ ।

कुल ९०० मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले वन क्षेत्रको जग्गा देखि आवश्यक सबै काम सहजीकरण गरिदिएको भएपनि जिएमआर आफैले केही काम गर्न सकेको थिएन । प्रभावित क्षेत्रमा हाल वितरण भइरहेको मुआब्जाको काम समेत सोचेजति प्रगति हुन सकेको छैन ।

सरकार आफैले कम्पनीलाई सजिलो हुने गरी म्याद थपको प्रस्ताव तयार पारेको स्रोतको दावी छ । सँगैको सतलज विद्युत् निगमले अरुण तेस्रोको शिलान्यासको तयारी गरिरहेको बेला जिएमआर कै आन्तरिक कारण आयोजनाले गति लिन सकेको थिएन ।

पटक पटक म्याद थप गर्दै जाने काम भने नहुने अवस्था कामय भए नेपालको स्रोत र साधनमाथि विदेशीको कब्जा कायम हुने आशंका पनि कायम नै रहेको छ ।

लगानी जुटाउन नसकेको भन्दै जिएमआरले सात महिना पहिल्यै बोर्डमा आवेदन दिएको थियो । बंगलादेश र हरियाणालाई विद्युत् बेच्ने र छलफल जारी रहेको भन्दै जिएमआरले पटक पटक बोर्डलाई जानकारी गराएको भएपनि त्यसको कुनै कागजात भने देखाएको थिएन ।

काम नगर्ने आयोजनाको म्याद थप गर्न नहुने भन्दै सरकारलाई आन्तरिक दबाव पनि परि रहेको छ । तर आगामी साता बस्ने बैठकमा बोर्डले चलाखीपूर्ण तवरले म्याद थप गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

तर गत साल म्याद थप गर्दा अन्तिम पटकका लागि भन्दै निर्णय गरिएको सन्दर्भमा यस पटक म्याद थप गर्नु बोर्ड स्वयम्का लागि समेत नैतिक प्रश्न बनेको छ ।


पुष्प दुलाल