भूकम्प पीडितलाई असर पर्नेगरी चुनाब लड्दिन, देउवालाई सोध्छु: गोबिन्दराज



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणक प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्दराज पोखरेलले भूकम्प पीडितहरुलाई असर गर्ने गरी आफू संसदको चुनाब नलड्ने बताएका छन् ।

प्युठान कांग्रेसले पोखरेललाई २ दिनअघि आगामी प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन गर्न सर्वसम्मतरुपमा केन्द्रलाई सिफारिस गरेको थियो ।

पोखरेलले आफूलाई संसदको उम्मेद्वार बन्न सिफारिस गरिए पनि भूकम्प पीडिलाई असर पार्नेगरी आफू चुनान नलड्ने प्रतिक्रिया दिए ।

आफू चुनाब उठ्दा कन्फर्म जित्ने देखेपछि प्रतिस्पर्धीहरु आफ्ना विरुद्ध भ्रामक प्रचारप्रंसारमा लागेको पोखरेलले दाबी गरे ।

संसदको उम्मेद्वारका लागि नाम सिफारिस भएको छ, अब पदबाट राजिनामा दिनुहुन्छ कि हुन्न ? भन्ने क्लिकमाण्डूको प्रश्नमा पोखरेलले भने, ‘मलाई सरकारमा हुँदा पार्टीले नै पुनर्निर्माणको जिम्मा दिएको हो । अब पनि पार्टी र पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेर मात्रै निर्णय गर्छु । उहाँले दिएको निर्देशन मान्छु ।’

आफूले व्यक्तिगतरुपमा भने चुनाब लड्ने वा नलड्ने भन्नेबारे कुनै पनि निर्णय गरि नसकेको पोखरेलले जानकारी दिए ।

देउवाले उठ्न दबाब दिए पदबाट राजिनामा दिएर चुनाब उठ्ने र प्राधिकरणमै काम गर्नुपर्छ भने यही पदमा बसेर भूकम्प पीडितका लागि थप काम गर्ने उनले बताए ।

दशैं मान्न गृहजिल्ला प्युठान गएका पोखरेलले शुक्रबार काठमाडौं फर्किएर प्रधानमन्त्री देउवासँग सल्लाह माग्ने जानकारी दिए ।

दशैं मान्न प्युठान आएर पारिवारिक भेटघाटका लागि जाँदा पनि राजनीति गरेको भन्दै विपक्षीहरुले प्रचार गराएको भन्दै पोखरेलले आक्रोस व्यक्त गरे ।

‘म आमा र आफन्तलाई लिएर स्थानीय मठमन्दिर घुम्न निस्कँदा पार्टीको कामका लागि पदको दुरुपयोग गर्यो भनेर विपक्षीले मिडियामार्फत प्रचारबाजी गराएका छन्,’ उनले भने, ‘कसैसँग प्रमाण छ भने दिए हुन्छ । म कारबाही भोग्न तयार छु ।’

आफू चुनाब उठ्दा कन्फर्म जित्ने देखेपछि प्रतिस्पर्धीहरु आफ्ना विरुद्ध भ्रामक प्रचारप्रंसारमा लागेको पोखरेलले दाबी गरे ।


पुष्प दुलाल