फेरि सञ्चालनमा आयो कैलाश खोला जलविद्युत् आयोजना



अछाम । नहर भत्किएर विद्युत् सेवा अवरुद्ध बनेको चार वर्षपछि अछामको कैलाश खोला जलविद्युत् केन्द्र सञ्चालनमा आएको छ ।

जलविद्युत् केन्द्रको भत्किएको नहर र पावरभवनमा रहेको मेसिन मर्मत गरेपछि विद्युत् सञ्चालनमा आएको हो ।

पहिरोका कारण जलविद्युत् केन्द्रको नहर भत्किएपछि समयमै मर्मत हुन नसक्दा चार वर्षसम्म विद्युत् सेवा अवरुद्ध रहेको थियो ।
लगातार ४ वर्षसम्म अवरुद्ध विद्युत् पटक पटकको ताकेता र खबरदारीपछि यही असोज २ गतेबाट सञ्चालनमा आएको अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए ।

विद्युत् सञ्चालन भएपछि प्रजिअको नेतृत्वमा स्थलगत अनुगमन पनि गरिएको छ । प्रजिअ चौधरीले पुनः सञ्चालनमा आएको विद्युत् नियमित गर्नका लागि नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रलाई निर्देशन दिए ।

जलविद्युत् केन्द्रको व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउन र नागरिकलाई उज्यालो दिन पनि प्रजिअ चौधरीले आग्रह गरे ।

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बोहोराले पावर भवनसम्मका लागि सडक निर्माण गर्न आवश्यक देखिएकाले त्यसमा नगरपालिकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वितरण केन्द्रका प्रमुख रोशनकुमार ठाकुरले जिल्लामा प्रभावकारी विद्युत् सेवा प्रवाह गर्नका लागि आफूले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।


पुष्प दुलाल