आयल निगमले भन्यो- अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई इन्धन दिन सक्दैनौं



काठमाडौं । सरकारले हवाई इन्धनको व्यवस्थापन गर्न नसके भरे/भोलिदेखि नै अन्तर्राष्ट्रिय हवाई उडान ठप्प हुने भएको छ । इन्धन बिक्री वितरण गर्दै आएको नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई जहाजहरुलाई इन्धन दिन नसक्ने जनाएको छ ।

नेपालबाट पेट्रोलियम पद्दार्थ लिन भारत गएका ट्यांकरहरु रक्सौलमै दैनिक १५/२० किलोमिटर जाममा परेका कारण इन्धन उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको निगमका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्यले जानकारी दिए

‘अन्तराष्ट्रिय उडान भर्ने जहाजलाई पनि इन्धन दिने हो भने निगमसँग भएको मौज्दातले आज र भोलि मात्रै पुग्छ,’ कार्यकारी निर्देशक आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दिप बस्न्यातलाई ब्रिफिङ गर्दै भने, ‘त्यसैले हामीले आन्तरिक उडान भर्ने जहाजलाई मात्रै इन्धन दिने निर्णयमा पुगेका हौं ।’

निगमसँग कूल क्षमताको १६ प्रतिशत मात्रै हवाई इन्धन मौज्दात रहेको उनले सुनाए । अन्तर्राष्ट्रिय उडानका लागि दैनिक ६ लाख लिटर तेल दिन आवश्यक पर्छ र आन्तरिकका लागि दैनिक ६० हजार लिटर इन्धन आयश्वक पर्ने उनले जानकारी दिए ।

‘निगमले अन्तर्राष्ट्रिय जहाजहरुलाई विदेशमै इन्धन भरेर आउनु, हामी दिन सक्दैनौं भनिसकेको छ,’ आचार्यले ब्रिफिङ गरे, ‘तर, उहाँहरुले १ किलो पनि लगेज कम गर्न नसक्ने भन्दै हामीले गरेको प्रस्ताब अस्वीकार गर्नुभएको छ ।’

आयल निगमले आइतबार १२ हजार किलोलिटर तेल दिन माग गर्दै इण्यिन ओयल कर्पोरेशनलाई पत्राचार गरिसकेको र उसले आजै तेल दिए ३ दिनपछि मात्रै काठमाडौं आइपुग्ने उनले जानकारी गराए ।

अख्तियार प्रमुख बस्न्यातले चाडबाड लक्षित आपूर्ति व्यवस्थापनमा सरकारले गरेको तयारीका विषयमा सरोकारवालालाई अख्तियारको कार्यालयमै बोलाएर छलफल गरेका थिए ।

निगमका कार्यकारी निर्देशकको ब्रिफिङ सुनेपछि अख्तियार प्रमुख बस्न्यातले कुटनीतिक, राजनीति र व्यूरोक्र्याटीक छलफल गरेर तत्काल समस्याको समाधान गर्न निर्देशन दिए ।


पुष्प दुलाल