दशैंमा घर जान नयाँ बसपार्कबाट कुन दिन कति यात्रुले टिकट काटे ?



काठमाडौं । टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गराएका छन् ।

दशैंका लागि गत भदौ २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो ।

भदौ २७ गते ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० तथा असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गराएका हुन् ।

देशका विभिन्न भागमा जान नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ ।

सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गरेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउँछन् ।
‘सडकको दुरावस्था र वर्षाका कारण केही यात्रुले अझै पनि टिकट काटेका छैनन्,’ उनले भने।

गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको छ । बाटोको दुरावस्था र वर्षाका कारण दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ ।

विभागकाअनुसार यस वर्ष २० देखि २१ लाखसम्म यात्रु दशैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने सम्भावना छ ।

विभागका प्रवक्ता डा टोकराज पाण्डे १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायातका साधन र ५ देखि ६ लाख यात्रु निजी यातायातका साधनमा बाहिरिने बताउँछन् ।


पुष्प दुलाल