बनेपामा सेयर कारोबार गर्ने बढे



बनेपा । सेयर बजारको दायरा फराकिलो हुँदै जाँदा यहाँ पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ ।

बनेपामा भिजन सेक्युरिटिज प्रालि ३४, डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालि ४४ नंले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र सेयर कारोबारको काम छ महिनादेखि हुन थालेपछि सो कारोबार गर्नेको संख्या बढेको हो ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकाश अधिकारीले गाउँ गाउँबाट सेयर कारोबार गर्न ग्राहक आउन थालेकाले गाउँको पैसा शहरमा परिचालन भएको बताए । उनले यस क्षेत्रमा सेयर कारोबार गर्ने महिलाको संख्या बढ्नुका साथै सेयर कारोबारप्रति जनचेतना बढ्दै गएको बताए ।

सो शाखामा एक साताको अवधिमा १० करोड ११ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको छ । चैतबाट उक्त कार्यालयले बनेपामा शुरु गरेको शेयर कारोबार गत साता चार दिनको अवधिमा रु छ करोड तीन लाख ४० हजार भएको थियो ।

त्यस्तै डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले बनेपामा एक साताको अवधिमा ९१ लाख ११ हजारको कारोबार गरेको छ । गत साता सो कार्यालयले रु ८५ लाख ६० हजारको कारोबार गरेको बनेपा शाखाका प्रमुख नमोः ओम श्रेष्ठले जानकारी दिए ।

“नयाँ नयाँ तर सानो कारोबार गर्ने ग्राहकको संख्या बढेको छ,” उनले भने । उक्त ब्रोकर कार्यालयले पाँच महिनादेखि बनेपामा शेयर कारोबार गर्दै आएको छ । यी दुई ब्रोकर कार्यालयबाहेक क्रियटिभ सेक्युरिटिज प्रालिले पनि सेयर कारोबार गर्दै आएको छ । बनेपा बजारलाई काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिँदै आएको छ । यहाँ आर्थिक कारोबार बढी हुने गर्छ । रासस


क्लिकमान्डु