मंगलबारदेखि ५ रुपैयाँको नयाँ नोट बजारमा



पुरानो नोट

काठमाडौं । अगाडि तलेजु भवानीको मन्दिर र पछाडि सगरमाथा र जोडी याकको तस्बीर भएको ५ रुपैयाँको नोट देखिरहुनभएको तपाईं एकैपटक अगाडि काष्ठमण्डप र पछाडि हुम्लामा पाइने जंगली याकको तस्बीर भएको नोट देख्दा झुक्किनु होला नि, कतै यो नक्कली नोट त होइन भनेर ?

तर, नझुक्किनुहोस्, ती नोट नक्कली होइनन् सक्कली हुन् । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि ५ रुपैयाँका यस्ता नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको राष्ट्र बैंकको नोट विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

‘हामीले मंगलबारदेखि ५ रुपैयाँका नयाँ नोट चलनचल्तीमा ल्याउँदैछौं,’ निरौलाले क्लिकमाण्डूसँग भने ।

नयाँ नोटमा भूकम्पले भत्काउनूअघिको काष्ठमण्डप र हुम्लाको लिमी क्षेत्र र त्यहाँ पाइने जंगली याकको तस्बीर राखिएको छ । नोटको दायाँतर्फ लालिगुराँशको पानीछाप रहने छ । यी नोटमा संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको छ । नयाँ नोटमा गभर्नर डा. चिरञ्जीबी नेपालको हस्ताक्षर छ ।

पुरानो नोट

बजारमा ल्याउन लागिएको ५ को नयाँ नोट निनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टीङ कर्पोरेशनले छापेको हो । यो कम्पनी चिनियाँ केन्द्रय बैंकको लगानीमा सञ्चालनमा छन् ।

यसअघि नै नेपालमा चिनियाँ कम्पनीले छापेका १०० र १००० रुपैयाँ दरका नोटहरु चलनचल्तीमा आइसकेका छन् । यसअघि नेपाली नोटहरु अन्य देशमा छापिन्थे ।


पुष्प दुलाल