मर्जरपछि किन घट्यो कुमारी बैंकको नाफा ?



काठमाडौं । कुमारी बैंकले गत असार दोस्रो साता काष्ठमण्डप विकास बैंक, महाकाली विकास बैंक, कांग्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई आफूसँग मर्ज गर्यो ।

मर्जरपछि बैंकको चुक्ता पुँजीसँगै बिजेनस र नाफा पनि बढ्ने अपेक्षा थियो । ३ अर्ब २६ करोड रहेको चुक्ता पुँजी बढेर ५ अर्ब ९७ करोड पुग्यो । ३७ अर्ब ९५ करोड रहेको निक्षेप ७२ अर्ब ७ करोड रुपैयाँ पुग्यो । त्यस्तै, ३० अर्ब रहेको कर्जा ४५ अर्ब पुग्यो ।

तर, नाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ करोड ६० लाख ६५ हजार रुपैयाँ कमाएको कुमारी बैंकले ४ वटा संस्था गाभ्दा पनि गत आर्थिक वर्षमा ७० करोड ३ लाख ७४ हजार रुपैयाँ मात्रै नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ ।

मर्जपछि बढ्नुपर्ने नाफा किन घट्यो ? बैंक स्रोत भन्छ ‘मर्जरमा समाहित भएका ४ संस्थाको १५ दिनको नाफा मात्रै कुमारी बैंकको नाफामा राखिएको छ । त्यसअघि ३४० दिन कमाएको नाफा रिजर्भमा राखिएकाले मर्जपछि पनि बैंकको नाफा बढ्न नसकेको हो ।’

मर्जरमा सहभागि संस्थाहरुबाट नाफामा करिब २० करोड रुपैयाँ योगदान हुने र जसमध्ये पनि काष्ठमण्ड डेभलपमेन्टको योगदात १५÷१६ करोड हुने बैंकको विश्वास थियो । सो अनुसारको योगदान भयो पनि । तर, ती बैंकहरुले कमाएको वर्षभरीको नाफा कुमारी बैंकको ब्यालेन्सिटमा नाफामा उल्लेख गर्न नपाउँदा बैंकको नाफा घटेको हो ।

स्रोतका अनुसार नाफा बढ्न नसक्नुको कारण त्यो मात्रै होइन । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव लगायतको समस्याका कारण बैंकको लागत बढेको छ, जसले नाफामा प्रत्यक्ष असर गर्यो ।

ब्याजदर बढेका कारण बैंकले ब्याज आम्दानी गर्न सकेन । अघिल्लो वर्ष २७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले ९ करोडले बढाउँदै गत वर्ष ३६ करोड रुपैयाँ ब्याज आम्दानी गर्यो ।

तर, अघिल्लो वर्ष १५ करोड रुपैयाँ ब्याज खर्च गरेको बैंकले गत वर्ष ७ करोडले बढाउँदै २२ करोड रुपैयाँ ब्याज खर्च गर्यो । यसरी एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ करोड रुपैयाँले मात्रै बढ्न पुग्यो । बैंकको मूख्य आम्दानी नै ब्याज आम्दानी हो । तर, यो बैंकले गत वर्ष खुद ब्याज आम्दानी गर्न सकेन, जसको असर नाफामा देखियो ।

‘तरलता अभावका कारण ब्याजदर उच्च बिन्दुमा पुग्यो, जसले बैंकको लागत बढायो,’ बैंक स्रोतले भन्यो, ‘लागत बढेपछि नाफा बढाउन सकिएन ।’

त्यसो त बैंकले प्रकाशित गरेको ब्यालेन्सिटमै अघिल्लो वर्षको तुलनामा गत वर्ष डेढ प्रतिशतले लागत बढेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा बैंकको कष्ट अफ फण्ड ४.४१ प्रतिशत थियो । आर्थिक वर्ष २०७३÷७४ मा कष्ट अफ फण्ड बढेर ५.९३ प्रतिशत पुगेको छ ।

त्यस्तै, बैंकको आधार व्याजदर उल्लेख्य बढेको छ भने स्प्रेड दर घटेको छ । अघिल्लो वर्ष ७.१५ प्रतिशत रहेको आधार ब्याजदर गत वर्ष बढेर ११.३१ प्रतिशत पुगेको छ भने ३.७० प्रतिशत रहेको स्प्रेड दर घटेर २.९० प्रतिशतमा झरेको छ ।

‘कष्ट अफ फण्ड नबढेको भए कुमारी बैंकले गत वर्ष ९० देखि १०० करोड रुपैयाँ नाफा कमाउन सक्थ्यो,’ स्रोतले भन्यो ।

मर्जरपछि बैंकको रिजर्भ भने ह्वात्तै बढेको छ । सेयर आदान प्रदान रेसियोबाट निस्किएको पैसा र एकीकृत कारोबार गर्नुअघि मर्जरमा सहभागी साना संस्थाहरुले कमाएको नाफा रिजर्भमा राखिएकाले बैंकको रिजर्भ उल्लेख्य मात्रामा बढेको हो । यसरी रिजर्भमा राखिएको रकम पनि केही रकम बाहेक अधिकांस रकम लगानीकर्ताहरुलाई लाभांस वा बोनसको रुपमा वितरण गर्न मिल्छ ।

अघिल्लो आर्थिक वर्षको बैंकको रिजर्भ ७६ करोड ७६ लाख रुपैयाँ थियो भने गत वर्ष २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

त्यतिमात्रै होइन, गत वर्ष बैंकले नाफा बढाउन नसक्नुको अर्को महत्वपूर्ण कारण पनि छ । त्यो हो संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटब्याक) मा आएको भारी गिरावट । अघिल्लो वर्ष बैंकले ४३ करोड २० लाख रुपैयाँ राइटब्याक गरेकोमा गत वर्ष २८ करोड २५ लाख रुपैयाँ मात्रै राइटब्याक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा पनि केही बढेको देखिन्छ । वित्तीय विवरण अनुसार अघिल्लो वर्ष कूल कर्जाको १.१५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर १.८६ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । मर्जरपछि बैंक व्यवस्थापन खर्च घटाउन, व्यापार तथा लगानी विविधिकरण, प्रविधिको स्तरोन्नति र स्रोत र साधनको अधिकतम प्रयोग गर्नमा बैंक व्यवस्थापन केन्द्रित रहेको उल्लेख छ ।


पुष्प दुलाल