८ अर्ब खर्च गरेर मिश्रित प्रणालीमा धरहरा पुनर्निर्माण गर्ने सहमति



काठमाडौं । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको प्राचिन संस्कृति झल्किने गरि मिश्रित प्रणालीमा पुनर्निर्माण गर्ने सहमति भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमवार बसेको सरोकारवाला निकायसहितको वैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउछु अभियानको संयुक्त पहलमा धरहरा पुनर्निर्माण गर्ने सहमति भएको हो ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले मुलुककै पहिचानको रुपमा रहेको धरहरा पुनर्निर्माणलाई तीव्रता दिएर अबको ३ बर्षमा सक्नेगरि काम थाल्नुपर्नेमा जोड दिए ।

करिब ८ अर्ब रुपैया लागत अनुमान गरिएको धरहरा पुननिर्माणका लागि अहिलेसम्म मेरो धरहरा म बनाउछु अभियान अन्र्तगत करिब ९ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

२०७२ सालको भूकम्पले पुर्णरुपमा भत्किएको धरहरा पुनर्निर्माणका लागि मेरो धरहरा म बनाउछु अभियान शुरु गरेर रकम संकलन गरिएको थियो । नेपाल टेलिकमले उक्त धरहरा पुनर्निर्माणमा चासो देखाएपनि ठोस रुपमा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

महानगरपालिका, नेपाल टेलिकम, पुरातत्व विभाग लगायतका निकायबीच आवश्यक समन्वय नभएपछि प्राधिकरणले धरहरा पुनर्निर्माणलाई प्राथमिकता दिन सरोकारवाला निकायलाई ताकेता गरेको थियो ।

सोमबार प्राधिकरणले बोलाएको बैठकमा नेपाल टेलिकम, पुरातत्व विभाग, पर्यटन मन्त्रालय र महानरपालिकाका प्रतिनिधी सहभागी थिए ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीले विभिन्न निकायबीचको खिचातानीका कारण धरहरा पुनर्निर्माणमा ठोस प्रगति नभएको भन्दै अव यसलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको बताए ।

उनले अब बन्ने धरहराको थ्रि डि मोडल आगामी आइतवार बस्ने बैठकमा नेपाल टेलिकमले प्रस्तुत गर्ने र पुनर्निर्माणको काम अघि बढ्ने जानकारी दिए ।

तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरुप बिक्रम संवत १९८२ मा उक्त धरहरा निर्माण गर्न लगाएका थिए ।

बिक्रम संवत १९९० को भूकम्पले क्षति पुगेपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शम्सेर राणाले उक्त धरहरालाई पुनर्निर्माण गराएका थिए । २०७२ सालको भूकम्पका कारण ऐतिहासिक उक्त धरहरा पुर्णरुपमा भत्किएको हो ।


पुष्प दुलाल