आजदेखि दोश्रो राष्ट्रिय मह मेला सुरु



काठमाडौं । ‘समृद्धिका लागि व्यवसायिक मौरी पालन’ भन्ने नारासहित दोश्रो राष्ट्रिय मह मेला २०७४ सुरु भएको छ । काठमाडौंको भुकुटिमण्डपमा आजदेखि दोश्रो राष्ट्रिय मह मेला सुरु भएको हो ।

मेलाको उद्घाटन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले गरेका छन् । मेलाको उद्घाटन गर्दै बाँस्कोटाले मौरी पालन व्यवसायले स्वरोजगारीको अवसर सिर्जना गरेको बताए ।

मौरी विज्ञ जगदिशभक्त श्रेष्ठले मह व्यवसाय थोरै खर्चमा गर्न सकिने भएकाले मौरी पालनबाट नेपाली कृषिक आत्मनिर्भर हुन सक्ने बताए । साथै, उनले नेपालमा २ हजार २ सय ५० मेट्रियक टन मह उत्पादन हुने तथ्य बारे जानकारी दिए ।

मौरी विज्ञ तिर्थकूमार श्रेष्ठले नेपालमा औसत एक व्यक्तिले बार्षिक ५० ग्राम मह उपयोग गर्ने तथ्यका बारे जानकारी दिए ।

व्यावसायिक कीट विकास निर्देशनालयका निर्देशक हरिहर अधिकारीले मौरी प्राकृतिको सबैभन्दा शक्तिशाली रक्षक भएको बताए । प्रकृति संरक्षणमा मौरीको सबैभन्दा अहम भूमिका रहेको उनको तर्क छ ।

यस्तै, मौरी व्यवसायि धर्मराज श्रेष्ठ मौरी सम्बन्धी ज्ञान भएका दक्ष जनशक्तिको अभाव रहेको बताए ।

‘सरकारले कृषकलाई मौरी सम्बन्धी जानकारी दिन आवश्यक छ, सरकारको तर्फबाट तालिमका साथै स्वदेशी तथा विदेशी मौरी र्फामको अवलोकन गराउनु पर्ने हुन्छ,’ उनले भने ।

आजदेखि सुरु भएको दोश्रो राष्ट्रिय मह मेला असार २९ गतेसम्म संचालन हुनेछ । मेलामा २० वटा स्टल मार्फत मह बिक्री वितरण भईरहेको आयोजकले जानकारी दिएका छन् ।


पुष्प दुलाल