स्वरोजगारका लागि युवालाई २५ करोड



झापा । सरकारले युवालाई व्यवसायी तथा उद्यमी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको स्वरोजगार कोषमार्फत झापामा यो पटक २५ करोड रुपैयाँ लगानी गरिने भएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमार्फत जिल्लामा उक्त रकम लगानी गर्न लागिएको स्वरोजगार कोष अनुगमन समितिका जिल्ला सचिव सन्तोष सापकोटाले जानकारी दिए ।

उनका अनुसार ४३ वटा सहकारी संस्थामार्फत २ हजार २ सय भन्दा बढी युवालाई ५० हजारदेखि २ लाख रुपैयाँसम्म प्रदान गरिनेछ । पुराना १७ र नयाँ २६ वटा सहकारीले व्यापार–व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न चाहने युवाको छनौट गरी लगानी गर्नेछन् ।

सरकारद्वारा सूचीकृत ती सहकारीले स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिएर १० प्रतिशत ब्याजमा लगानी गर्नेछन् । कोषमार्फत रकम वितरणका लागि सहकारी संस्थासँग सम्झौतासमेत भइसकेको र युवाले व्यवसाय सञ्चालनका लागि माग गर्ने रकम बराबरको निःशुल्क व्यक्ति र व्यवसायको बीमा गरिने सापकोटाले जानकारी दिए ।

स्वरोजगार कोषबाट रकम लिएर नियमित किस्ता तिरेर इमान्दारिता देखाउने युवालाई सम्झौता अवधि सकिएपछि ब्याजको ६० प्रतिशत फिर्ता गरिनेछ । यसअघि युवालाई तीन किस्तामा रकम प्रदान गरिएकामा अब एकै पटकमा सबै रकम प्रदान गरिने सचिव सापकोटाले जानकारी दिए ।

‘किस्ता–किस्तामा रकम दिँदा युवालाई पुँजी परिचालनमा समस्या भएपछि एकै पटकमा सबै रकम दिन लागिएको हो, “एकै पटक रकम प्रदान गर्दा प्रभावकारी हुन्छ ,’ उनले भने ।

स्वरोजगार कोषमार्फत यसअघि जिल्लामा १७ वटा सहकारीले ८ सय ४४ युवामा ८ करोड ८५ लाख रुपैयाँ लगानी गरेका थिए ।

त्यस्तै, सहकारीलाई ७ प्रतिशत ब्याजमा रकम प्रदान गरिएकामा सहकारीले युवालाई १२ प्रतिशत ब्याजमा लगानी गरेका थिए । यस पटक ब्याजको दर घटाएर सहकारीलाई पाँच प्रतिशत र सहकारीले युवालाई १० प्रतिशत ब्याजदरमा लगानी गर्नेछन् । सरकारले स्वरोजगारको माध्यमबाट विदेश पलायन घटाउँदै स्वदेशमै कमाउने र स्वदेशमै रमाउने वातावरण निर्माणका लागि कोष सञ्चालनमा ल्याएको संयोजक सापकोटाले बताए । रासस


पुष्प दुलाल