एनसीसी, कुमारी र सिभिल बैंकको बिकल्प फोर्स मर्जर नै हो त ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ०७२ साल साउन ७ गते मौद्रिक नीतिमार्फत २ बर्ष भित्र बाणिज्य बैंकहरुको चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैंयाँ पुर्याउनु पर्ने घोषणा गरेको थियो ।

त्यसको लगत्तै बैंकर्सहरुले पुँजी अनुसारको ब्ययसाय तत्काल बृद्धि नहुने, २ बर्षको समयमै चार गुणाले (त्यतीबेला बाणिज्य बैंकहरुको चुक्ता पुँजी न्युनतम २ अर्ब रुपैंया थियो) पुँजी बढाउन गाह्रो हुनेलगायत कारणहरु सहित असन्तुष्टि ब्यक्त गरेका थिए । र, शक्ति केन्द्रहरुमा राष्ट्र बैंकको निर्णय उल्टाउन लबिङ समेत गरेका थिए ।

तर, निर्णय उल्टिने कुनै संभावना नदेखिएपछि उनीहरु बिस्तारै पुँजी बृद्धिको बाटोमा लागे । केही बैंक आपसमा मर्ज भए, केहीले स-साना संस्थाहरु प्राप्ती वा मर्ज गरे भने केहीले हकप्रदको बाटो रोजे ।

अब यसै आर्थिक बर्षको अन्त्यसँगै राष्ट्र बैंकले उनीहरुलाई दिएको २ बर्षको समय सिमा सकिंदैछ । तर, राष्ट्र बैंकले चालु आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिएर पनि पुँजी बढाउन सक्ने सुबिधा भने दिएको छ ।

यो दुई बर्षको अन्तरालमा कतिपय बैंकहरुले ८ अर्ब पुँजी पुर्याइसकेका छन् । कतिपय चालु आर्थिक बर्षको बोनस पछि न्युनतम पुँजी पुर्याउन सक्ने सहज अवस्थामा छन् । केहीलाई भने न्युनतम पुँजी पुर्याउन अलि कठिन हुने पनि देखिन्छन् ।

राष्ट्र बैंकले चालु आर्थिक बर्षपछि पनि तोकिएको न्युनतम पुँजी पुर्याउन नसक्ने बैंकलाई कारबाही गर्ने बताएको छ । तर, कस्तो कारबाही भने खुलाइसकेको छैन । पुँजी पुर्याउन नसक्ने बैंकहरुलाई दबाबपूर्ण मर्जरको बाटोमा लाने बिकल्प पनि भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

एनसीसी बैंक, सिभिल बैंक र कुमारी बैंकलाई तोकिएको समय सीमा भित्र पुँजी पुर्याउन केही कठिन हुने देखिएको छ ।

४ वटा बिभिन्न बिकास बैंक प्राप्ती गरेको एनसीसी बैंकको हाल ४ अर्ब ६८ करोड रुपैंयाँ पुँजी छ । बैंकले हालको पुँजीको ५० प्रतिशत हकप्रद र चालु आर्थिक बर्षको बोनस सेयरबाट ८ अर्ब पुँजी पुर्याउने लक्ष्य लिएको थियो ।

तर, एपेक्स बिकास बैंकको अत्याधिक खराब कर्जाका कारण हकप्रदको प्रक्रिया ठप्प भएको छ । यो हिसाबले बैंकले राष्ट्र बैंकले दिएको समयसीमा भित्र ८ अर्ब पुर्याउने संभावना कम देखिएको छ ।

यसैगरी सिभिल बैंकको हाल ४ अर्ब ७१ करोड रुपैंयाँ चुक्ता पुँजी रहेको छ । बैंकले यसपछि ४० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । हकप्रद पछि बैंकको पुँजी ६ अर्ब ६० करोड हाराहारी पुग्छ ।

त्यपछि फेरी राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ पुँजी पुर्याउन बैंकले २२ प्रतिशत भन्दा बढिले पुँजी बढाउनुपर्नेछ । बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको बित्तीय बिवरण हेर्दा २२ प्रतिशत बोनस सेयर बाँढ्न सम्भव देखिंदैन ।

कुमारी बैंकको हाल ४ अर्ब ६१ करोड रुपैंयाँ पुँजी छ । बैंकको ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस सेयर पछि सो पुँजी पुगेको हो ।

यसैगरी काष्ठमण्डप बिकास बैंक, महाकाली बिकास बैंक, क्राँक्रेबिहार बिकास बैंक र पश्चिमाञ्चल फाइनान्सको प्राप्ति पछि ६ अर्ब ५० करोड पुगेको छ । अझै बैंकले १ अर्ब ५० करोड भन्दा बढिले पुँजी बढाउनुपर्नेछ ।


पुष्प दुलाल