स्ट्याण्डर्ड चार्टर्ड बैंकः डेढ करोड लगानीले ३० बर्षमै ३३ अर्ब ६० करोडको सम्पत्ति
काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंक नेपालमा सन् १९८७ मा ‘जोइन्ट भेन्चर’को रुपमा स्थापना भएको बैंक हो । अहिले बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको ७५ प्रतिशत स्वामित्व छ भने २५ प्रतिशत सेयर सर्वसाधारण नेपालीको हातमा छ । चार्टडलाई नेपालमा एकमात्र ठूलो अन्तराष्ट्रिय बैंक हुनुको फाइदा छ ।
यसैका आधारमा बैंक नेपालका बहुराष्ट्रिय कम्पनी, एयरलाइन्स, होटल, दुतावासहरु, दातृ निकयहरु, एनजिओ, आइएनजिओलगायतको पहिलो रोजाइमा पर्दै आएको छ । सम्पत्ति सुद्धिकरण निवारण र ‘नो योर कस्टुमर’ जस्ता आन्तरिक सुरक्षा प्रणालीको सुरुवातमा पनि बैंक अग्रणी भुमिकामै छ ।
स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको कुरा गर्दा यो १ सय ५० बर्ष पुरानो र बिश्वकै प्रतिष्ठित बैंकिङ ग्रुप मध्येको हो । करीब ७० देशमा फैलिएको यस ब्राण्डको १७ सय हाराहारी शाखा सञ्जाल र ८७ हजार भन्दा बढि कर्मचारीहरु छन् ।
यसैका आधारमा बैंकले नेपालमा राम्रो ब्यवसाय बृद्धि ग¥यो । र, आफ्नो आकार पनि निरन्तर बढाउँदै लग्यो ।
उदाहरणको लागि, सन् १९८७ मा स्थापना हुँदा बैंकको चुक्ता पुँजी ३ करोड रुपैंयाँ मात्र थियो । जसको ५० प्रतिशत, अर्थात डेढ करोड रुपैंयाँ स्ट्यान्डर्ड चार्टड ग्रुप भित्रैको लगानी थियो भने ३५ प्रतिशत लगानी नेपाल बैंकको थियो । सर्वसाधारणको हातमा भने १५ प्रतिशत सेयर थियो ।
अहिले भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको पुँजी ३ अर्ब ७४ करोड रुपैंयाँ पुगिसकेको छ । यसको ७५ प्रतिशत सेयर स्वामित्व बिदेशीको हातमा छ, जसमा स्ट्यान्डर्ड चार्टड ग्रिन्डलेज अष्ट्रेलियाको स्वामित्वमा ५० प्रतिशत र स्ट्यान्डर्ड चार्टड बैैंक युकेको हातमा २५ प्रतिशत छ । नेपालका सर्वसाधारणसँग चाँही २५ प्रतिशत सेयर छ ।
बैंकले पछिल्लो समयमा जारी गरेको एफपिओ पछि भने यो संरचनामा परिवर्तन आई बिदेशीको हातमा ७०.२१ र नेपालीको स्वामित्वमा २९.७९ प्रतिशत हुने भएको छ ।
नेप्सेमा सुचिकृत २ करोड ८० लाख कित्ता प्रमोटर सेयर (एफपिओको पुँजीकरण पछि) लाई १२ सय रुपैंयाँले गुणा गर्दा स्ट्यान्डर्ड चार्टड बैंकको प्रमोटर सेयरको कुल बजार पुँजीकरण ३३ अर्ब ६० करोड रुपैंयाँ हुन आउँछ । यसको मतलब ३० बर्ष अघि गरिएको १ करोड ५० लाख रुपैंयाँ लगानीको आज कुल बजार मुल्य ३३ अर्ब ६० करोड रुपैंयाँ पुगेको छ । यो भनेको २ लाख २४ हजार प्रतिशतको बृद्धि हो ।
बैंकले ११ सय ९० रुपैंयाँ प्रिमियममा १ सय रुपैंयाँ ‘फेस भ्याल्यु’ जोडेर १२ सय ९० रुपैंयाँ प्रतिकित्तामा २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ सेयर जारी गरेको थियो ।
बैंकले स्थापनाकालमा रहेको ३ करोड रुपैंयाँ चुक्ता पुँजीलाई बढाएर ३ अर्ब ७४ करोड रुपैंयाँ पुर्याउनुलाई बैंकको आकारमा भएको उल्लेखनीय बृद्धिकै रुपमा बुझ्न सकिन्छ । र, बैंकले ब्यवसाय बृद्धिको गतिसँगै आफ्नो पुँजीलाई निरन्तर बढाउँदै लगेको पनि थियो ।
अब भने राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी पुर्याउन बैंकले केही छलाङ मार्नुपर्ने भएको छ । यसका लागि बैंकले एफपिओको सेयरको पुँजीकरण र प्रिमियम र चालु बर्षको नाफाबाट बोनस सेयर बाँडेर सो लक्ष्य भेट्ने बाटो समातेको छ ।
बिगत ५ बर्षको तथ्याङ्क केलाउने हो भने बैंकले निरन्तर आफ्नो पुँजी बढाउँदै लगेको देखिन्छ । पुँजी बढाउने बाध्यकारी नियम नहुँदा पनि बैंकले आफ्नो पुँजीको आधार निरन्तर बलियो बनाउँदै लगेको देखिन्छ ।
आर्थिक बर्ष २०६८/६९ मा बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैंयाँ थियो । त्यसपछिका बर्षहरुमा क्रमशः २ अर्ब ४ करोड, २ अर्ब २४ करोड, २ अर्ब ८१ करोड हुँदैं २०७२/७३ सम्म आइपुग्दा ३ अर्ब ७४ करोड रुपैंयाँ पुर्याइसकेको छ । आर्थिक बर्ष २०७३/७४ (यो आर्थिक बर्षको बोनस सेयर समेत जोडेर) को अन्त्यसम्ममा बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउने लक्ष्य लिएको छ ।
नेपालका स्थानीय बैंकहरुले बिभिन्न कालखण्डमा पुँजी बढाउन हकप्रदको बाढि ल्याउँदा स्ट्यान्डर्ड चार्टर्डले भने स्थापनाको ३० बर्षमा ३ करोड रुपैंयाँबाट चुक्ता पुँजी ८ अर्ब रुपैंयाँ पुर्याउँदासम्म एक पटक पनि हकप्रद सेयर बिक्री गरेको छैन । अर्थात, बैंकका प्रमोटर र सेयरधनीहरुले आजको दिनसम्म बैंकमा थप लगानी गरेका छैनन् । कमाइको आधारमै बैंकको पुँजी बढाउँदै लगियो र आकार बढ्दै गयो ।
बैंकले पुँजी बढाउन आफ्नो कमाइबाट बोनस सेयर बाँढ्दै आएको छ । बोनस सेयर र नगद लाभांश दुवै बाँढ्दै आएको बैंकले बिगतका बर्षहरुमा बोनस सेयर भन्दा नगद लाभांश बढि बाँड्ने गरेको थियो । तर, राष्ट्र बैंकको ८ अर्ब रुपैंयाँ चुक्ता पुँजीको बाध्यकारी नियम पछि भने बोनस सेयरको आकार नगद लाभांश भन्दा बढ्दै गएको देखिन्छ ।
क्रं.सं | आर्थिक बर्ष | बोनस सेयर (प्रतिशत) | नगद लाभांश (प्रतिशत) | कुल लाभांश |
१. | २०७२/७३ | ३३.३३ | १.७५ | ३५.०८ |
२. | २०७१/७२ | २५ | १९.२१ | ४४.२१ |
३. | २०७०/७१ | १० | ४१.५ | ५१.५ |
४. | २०६९/७० | १० | ४० | ५० |
५. | २०६८/६९ | १५ | ४५ | ६० |
नेप्सेमा हाल स्ट्यान्डर्ड चार्टडको ३ करोड ७४ लाख कित्ता सेयर सुचिकृत रहेको छ । र, अन्तिम कारोबार मुल्य २२ सय ७७ रुपैंयाँ छ । यो हिसाबले बैंकको कुल बजार पुँजीकरण ८५ अर्ब ३८ करोड रुपैंयाँ छ ।
एफपिओको २५ लाख कित्ता सेयरपछि भने बैंकको सुचिकृत सेयर ४ करोड नाघ्छ । र, बजार पुँजीकरण (यही मुल्यले) ९१ अर्ब हाराहारी पुग्छ ।
अब एफपिओ पछि कायम हुने ७० प्रतिशत प्रमोटर सेयर संख्यालाई मात्र हेरौं । एफपिओ पछिको ४ करोड कित्ता सुचिकृत सेयरको ७० प्रतिशतको हिसाबले २ करोड ८० लाख कित्ता सेयर प्रमोटरको हातमा हुन्छ । अब प्रमोटरको सेयरको मात्र बजार पुँजीकरण कति हुन्छ हेरौं ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमोटर सेयरको किनबेच खासै हुँदैन । किनबेच गर्न नपाउने कुनै प्राबधान नभए पनि प्रमोटर सेयरको बिक्रीकर्ता वा खरिदकर्ता सक्रिय नभएका कारण नै कारोबार नभएको बताउँछन् नेप्सेका अधिकारी ।
कारोबार रकमको कुरा गर्दा भने प्रमोटर सेयरको मुल्य सर्वसाधारण सेयरको मुल्यको ५० प्रतिशतभन्दा कम हुनुहुदैन । सर्वसाधारण सेयरको अन्तिम कारोबार मुल्य २२ सय ७७ रुपैंयाँलाई लिने हो भने प्रमोटर सेयरको मुल्य कम्तीमा ११ सय ३८ रुपैंयाँ हुनुपर्छ । यसको ‘राउन्ड फिगर’ १२ सय रुपैंयाँ मानौं ।
अब नेप्सेमा सुचिकृत २ करोड ८० लाख कित्ता प्रमोटर सेयर (एफपिओको पुँजीकरण पछि) लाई १२ सय रुपैंयाँले गुणा गर्दा स्ट्यान्डर्ड चार्टड बैंकको प्रमोटर सेयरको कुल बजार पुँजीकरण ३३ अर्ब ६० करोड रुपैंयाँ हुन आउँछ । यसको मतलब ३० बर्ष अघि गरिएको १ करोड ५० लाख रुपैंयाँ लगानीको आज कुल बजार मुल्य ३३ अर्ब ६० करोड रुपैंयाँ पुगेको छ । यो भनेको २ लाख २४ हजार प्रतिशतको बृद्धि हो । यसको मतलब स्ट्यान्डर्ड चार्टर्ड ग्रुपका प्रमोटरहरुले नेपालमा गरेको लगानीबाट ३० बर्षमा २ लाख २४ हजार प्रतिशतले आफ्नो सम्पत्ति बढाएका छन् ।
तर, पछिल्ला बर्षहरुमा भने ब्यवसाय बृद्धिमा केही कमी आएको छ । नेपालमा निजी क्षेत्रका बैंकहरुको संख्या तिब्र गतिमा बढेसँगै उनीहरुले आफ्नो शाखा सञ्जाल पनि त्यसैगरी बढाए । पछिल्ला बर्षहरुमा चार्टर्डले उनीहरुको गति पक्रन नसकेझैं लाग्छ ।
पछिल्लो ५ बर्षमा चार्टडको औसत निक्षेप बृद्धिदर १२.०१ प्रतिशत छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा अन्य बाणिज्य बैंकहरुको निक्षेप बृद्धिदर २२ प्रतिशत हाराहारी छ । अझ चार्टर्डको बिगत १ बर्षको निक्षेप बृद्धिदर हेर्ने हो भने ७.०९ प्रतिशतमात्र छ ।
बैंकको बिगत ५ बर्षको औसत कर्जा परिचालन बृद्धिदर १२.५१ प्रतिशत छ । बिगत १ बर्षको कर्जा परिचालन बृद्धिदर हेर्ने हो भने ३४.५० प्रतिशत छ । बिगत १ बर्षको समग्र बैंकिङ क्षेत्रको कर्जा परिचालन बृद्धिदर भने ३२.९३ प्रतिशत रहेको छ ।
बैंकको संचालन नाफा र खुद नाफा बिगत २ बर्षदेखि घट्दो क्रममा छन् । पुँजी बढेसँगै प्रतिसेयर आम्दानी पनि निरन्तर घट्दो क्रममा छ । आर्थिक बर्ष २०६८/६९ मा ७२.६७ रुपैंयाँ भएको प्रतिसेयर आम्दानी ०७३/७४ सम्म आइपुग्दा ३६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
२०७२ साल साउन ७ गते नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब पुर्याउने निर्णय गर्दा बैंकहरुले शुरुवाती समयमा केही असन्तुष्टि जनाए पनि पछि मर्जर, बोनस सेयर र हकप्रदको बाटो रोजे । थोरै पुँजी (२ अर्ब हाराहारी) भएका बैंकहरुले हकप्रदको बाटो रोजे ।
तर, सो समयमा २ अर्ब २४ करोड मात्र चुक्ता पुँजी भएको चार्टर्डले हकप्रदको बाटो रोजेन । बरु नाफाबाट मात्र बोनस सेयर दिंदा झण्डै ४ गुणाले पुँजी बढाउन संभव नहुने भएपछि एफपिओको प्रिमियम मार्फत जेगेडा कोष भर्ने र त्यहाँबाट बोनस सेयर बाँडेर पुँजी बढाउने बाटो समात्यो ।
स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको कुरा गर्दा यो १ सय ५० बर्ष पुरानो र बिश्वकै प्रतिष्ठित बैंकिङ ग्रुप मध्येको हो । करीब ७० देशमा फैलिएको यस ब्राण्डको १७ सय हाराहारी शाखा सञ्जाल र ८७ हजार भन्दा बढि कर्मचारीहरु छन् ।
यस्तो प्रतिष्ठित अन्राष्ट्रिय ब्राण्ड, जसले नेपालमा मात्र ३० बर्षमै २ लाख २४ हजार प्रतिशतले आफ्नो सम्पत्ति बढाएको छ, ले २ बर्षको छोटो अबधिमै झण्डै ४ गुणाले चुक्ता पुँजी बढाउनुपर्दा पनि आफ्नो पैसा थप्ने (हकप्रदको) सहज बाटो नसमातेर नेपालका सर्वसाधारणकै पैसा एफपिओ मार्फत उठाएर पुँजी बढाउने घुमाउरो बाटो किन समात्यो ? बिगतमा लाखौं प्रतिशतले आफ्नो सम्पत्ति बढाएको चार्टड भविष्यमा नेपालमा आफ्नो लगानीका बारे के सोच्छ ? लगानीबाट राम्रै प्रतिफल आउने अपेक्षा भए लगानी थप्न किन हिचकिचाउँछ ? सायद यी प्रश्न महत्वपूर्ण छन् ।