साउदी अरबमा, कतारबाट गएका हजारौ गोठाला अलपत्र




काठमाडौं । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरु आधारभूत मानव अधिकारबाट बञ्चित भएको जनाएको छ ।

कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरुलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको समितिका अध्यक्ष डा. अलिविन समैखा अल मर्रीले अन्तर्राष्ट्रिय संचार माध्यमलाई जनाएका छन ।

साउदीले जुन ५ गतेबाट कतारसँग कूटनीतिक सम्बन्ध विच्छेदसँगै नाकाबन्दी गरेपछि कतारी नागरिकलाई साउदी जान रोक लगाएको छ । इस्लामिक लडाकुलाई सहयोग गरे आरोप लगाउँदै साउदी अरवको नेतृत्वमा खाडीका छिमेकी युनाइटेड अरव इमिरेट्स, बहराइन र इजिप्टले कतारसंग कुटनैतिक सम्बन्ध तोड्दै सिमा नाका बन्द गरेका छन । कतारी यात्रुवहाक विमानलाई आफ्नो एयरस्पेस प्रयोग गर्न समेत रोकेका छन ।

साउदीमा भएका कतारीहरु आफ्नो मुलुक फर्किसकेका छन् । ‘साउदीको कूटनीतिक विच्छेद र नाकाबन्दीपछि साउदीमा रहेका धेरै आप्रवासी कामदार अलपत्र छन,’ बुधबार कतारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उनीहरुलाई कतारमा आउन दिइएको छैन ।’

कतारमा ऊँट र बाख्रा पालन तथा खेतीपाती गर्न ठाउँ निकै कम छ । कतारी नागरिकको साउदीमा खेतीपाती, ऊँट, भेडाबाख्राको गोठ छ । जसमा कतार पुगेका कामदारलाई उनीहरुले साउदीमा लिएर जाने गरेका छन् ।

साउदीले गत साता साउदी र कतारको सीमा आसपास भएका कामदार र ऊँटलाई भने डिपोर्ट गरिदिएको थियो । बोर्डरबाट निकै टाढा र भरुभूमिका भित्री भागहरूमा कार्यरत कामदार भने बिचल्लीमा छन् । ती कामदारलाई खानाको समेत अभाव भएको मुर्रीले जनाए ।

ती क्षेत्रमा कार्यरत नेपालीको दूतावाससमक्ष सम्पर्क हुन सकेको छैन । कतार र साउदीस्थित नेपाली दूतावासले साउदीको भरुभूमिमा अलपत्र परेका गोठाला र किसान सम्र्पकमा नआएको जनाएको छ ।


पुष्प दुलाल