गुगललाई २ खर्ब जरिवाना




काठमाडौं । इन्टरनेट सर्च इन्जिन गुगललाई गलत ब्यापारिक अभ्यास गरेको मुद्दामा दोषी ठहर गर्दै युरोपियन युनियनले २ अर्ब ७ करोड अमेरकी डलर अर्थात् २ खर्ब रुपैयाँभन्दा बढी जारिवाना गरेको छ ।

कुनै कुरा गुगलमा खोजी गर्दा निष्पक्ष हुनुको साटो गुगलले आफ्नो ‘सपिङ कम्प्यारिजन सर्विस’ लाई गुगलमा खोजी नतिजाको शीर्ष स्थानमा प्रवर्धन गरेको आरोप गुगललाई लागेको छ ।

बजारलाई आफू अनुरुप ढाल्न गलत कार्य गरेको आरोपमा गुगलले पाएको यो जरिवाना अहिले सम्मकै सबैभन्दा ठूलो भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

युरोपियन युनियनले गुगललाई आफ्नो बजार प्रतिष्पर्धा विरोधी नीतिलाई ९० दिनभित्र अन्त्य गर्न आदेश दिएको छ । यदि गुगलले अटेरी गरेमा उसलाई अझै सजाय दिने पनि युनियनले चेतावनी दिएको छ ।

तर अमेरिकी संस्था गुगलले उक्त फैसला पुनर्मूल्यांकनका लागि अपिल गर्ने बताएको छ ।

अब गुगलले आफूसँग जोडिएको ‘शपिंङ सर्विस’ उसले चलाउने तारिकामा ३ महिना भित्र परिवर्तन गरिसक्नुपर्ने छ ।

गुगलले अटेरी गरेमा उसको ‘शपिंङ सर्विस’ले संसारभरबाट दैनिक कमाएको ५ प्रतिशत रकम जरिवानाका रुपमा बुझाउनु समेत फैसला गरेको छ ।

गुगलसँग जोडिएको उक्त कम्पनीले एक करोड ४० लाख डलर दैनिक आम्दानी गर्छ । गुगलले गरेको काम आफ्नो ‘एन्टी–ट्रष्ट’ कानुनको उलंघन भएको युरोपियन युनियनको भनाइ छ ।


पुष्प दुलाल