व्यापारिक सम्बन्धबाट नेपाल र थाइल्याण्डको सम्बन्ध सुमधुर हुनेः राजदूत भकावत तान्कुल



काठमाडौं । नेपालका लागि थाइल्याण्डका राजदूत भकावत तान्कुलले नेपालमा पर्यटनको सम्भावना अधिक रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित नेपाल र थाइल्याण्डबीचको व्यापारिक सम्बन्ध विस्तारका लागि दुई देशका अधिकारीबीच भएको छलफलमा सहभागी राजदूतले सो कुरा बताएका हुन् ।

‘थाइल्याण्डको नेपालसँगको ५८ बर्षदेखि कूटनीतिक सम्बन्ध रहिआएको छ, यो सम्बन्धलाई व्यापारिक सम्बन्ध स्थापित गरेर अझ सुमधुर बनाउनु पर्नेछ,’ राजदूत तान्कुलले भने ।

नेपालले पर्यटन प्रवद्र्धन गर्न सके आर्थिक रुपमा अघि बढ्न सक्ने उनको बुझाइ छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशको सम्बन्धलाई अझ सुमधुर बनाउनका लागि कृषि, पर्यटन, व्यपार तथा पूर्वाधारमासँगै मिलेर काम गर्नु पर्ने बताए ।

‘नेपालका व्यवसायीले थाइल्याण्ड यात्राको क्रममा भिसाको समस्या भोग्ने गरेका छन्, भिसा प्रक्रियालाई सरलीकरण गर्न सके दुबै देशका व्यापारिको हित हुने छ,’ श्रेष्ठले भने ।

साथै, नेपाल र थाइल्याण्डबीच हवाई उडान वृद्धि गर्न उनले राजदूत तान्सकुलसँग माग गरे ।

चेम्बर पदाधिकारीले उठाएको विषयले आफ्नो ध्यानाकर्षण भएको बताउँदै तान्सकुलले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


पुष्प दुलाल