बीमा कम्पनी र लघुबित्त मिलेर ल्याए लघुबीमा कार्यक्रम, गरिब र किसानलाई फाइदा



काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले लघुवित्त बैकर्स संघसँग मिलेर लघुबीमा कार्यक्रम सुरु गर्ने भएका छन् । करिब ८ करोड रुपैयाँको पूल बनाएर लघुबीमा कार्यक्रम सुरु गर्न लागिएको हो ।

निर्जीबन बीमा कम्पनीहरुको तर्फबाट करिब ४ करोड रुपैयाँ र बेलायती सहयोग संस्था सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको करिब ४ करोड रुपैयाँमा माइक्रो इन्स्योरेन्स पूल बनाएर लघुबीमा कार्यक्रम सुरु गर्न लागिएको नेपाल बिमक संघका उपाध्यक्ष तथा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विके महर्जनले जानकारी दिए ।

‘हामी १७ वटै निर्जीबन बीमा कम्पनीहरुले समानुपातिक रुपमा करिब ४ करोड रुपैयाँ पूलमा राखेका छौं, सक्षमले करिब ४ करोड रुपैयाँ दिने भनेको छ, यो पैसाले पूल बनाएर लघुवित्त बैकर्स संघसँग मिलेर कार्यक्रम सुरु गर्दैछौं,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

यो कार्यक्रमको ब्यवस्थापन बिमक संघले गर्नेछ । यसको लागि संघले नयाँ प्रमुख कार्यकारी अधिकृत पनि राखिसकेको छ । लघुबीमा कार्यक्रम संचालन गर्नकै लागि कृषि विकास बैंकका अबकाश प्राप्त कर्मचारी द्रोण आचार्यलाई प्रमुख कार्यकारी अधिकृत चयन गरेर प्रक्रिया अगाडि बढाइएको छ । चालु आर्थिक बर्षभित्रै कार्यक्रम सुरु गरिसक्ने तयारी भएको महर्जनले जानकारी दिए ।

संघले पहिलो बर्षको लागि पूल म्यानेजरमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छनोट गरेको छ । पूल म्यानेजर प्रत्येक बर्ष पालैपालो परिवर्तन गर्ने सहमति भएको छ । पहिलो बर्षको लागि प्रुडेन्सियल छनोट भएको हो ।

लघुबीमा कार्यक्रम संचालन मोडालिटी अनुसार लघुबीमा कार्यक्रमको संचालन लघुवित्त कम्पनीहरुले गर्ने छन् । अर्थात लघुवित्त कम्पनीका कर्मचारीहरुले लघुबीमा गराउने छन् । यसरी लघुबीमा गराए वापत कम्पनीहरुले १५ प्रतिशत कमिसन र थप १० प्रतिशत ब्यवस्थापन खर्च गरी बीमा शुल्कको २५ प्रतिशत रकम प्राप्त गर्नेछन् ।

बीमा गराउँदा जुन कम्पनी पूल म्यानेजर बन्छ सोही कम्पनीको नाममा बीमालेख जारी गरिनेछ । अर्थात पहिलो बर्षको लागि पूल म्यानेजर बनेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाममा बीमालेख जारी हुन्छ । दोस्रो बर्ष अर्काे कम्पनी छनोट भएपछि अर्कै कम्पनीको नाममा बीमालेख जारी हुनेछ ।

बीमालेखमा एउटा कम्पनीको नाम उल्लेख भएपनि त्यस्तो बीमाबाट प्राप्त हुने प्रिमियम र आइपर्ने दायित्व भुक्तानीमा १७ वटै निर्जीबन बीमा कम्पनीहरु सहभागी हुनेछन् । अर्थात प्राप्त भएको बीमाशुल्क सबै बीमा कम्पनीहरुले बराबरी बाढेर लिनेछन् भने बीमा दाबी भुक्तानी गर्नुपरेमा सबै बीमा कम्पनीहरुले बराबरी दाबी भुक्तानी गर्नेछन् । अहिले बनेको पूलबाट पहिला दाबी भुक्तानी गर्ने र पछि सबै कम्पनीहरुले बराबरी रुपमा त्यस्तो रकम तिर्नेछन् ।

यो कार्यक्रम अन्तरगतको अधिकतम बिमाङ्क २ लाख रुपैयाँको हुनेछ । अर्थात २ लाख रुपैयाँसम्मको सम्पत्तिको बीमा यो कार्यक्रमले समेट्ने छ । बीमा समितिले लघुबीमा कार्यक्रमको लागि ७ प्रकारका बीमालेख स्वीकृत गरिसकेको समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले जानकारी दिए ।

समितिले दिएको जानकारी अनुसार गार्हस्थ लघुबीमाको अधिकतम बिमाङ्क सबैभन्दा बढी अर्थात २ लाख रुपैयाँसम्मको छ । यो बीमा कार्यक्रममा सहभागी हुन चाहने ब्यक्ति वा फर्महरुले ०.२५ प्रतिशत अर्थात बार्षिक ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य लघुबीमा कार्यक्रम पनि संचालन गर्न लागिएको छ । यो कार्यक्रममा प्रतिपरिवार बार्षिक ३५ हजार रुपैयाँसम्म स्वास्थ्य बीमा दाबी गर्न पाइनेछ । तर यसको लागि परिवार संख्या बढीमा ५ जनाको हुनुपर्नेछ भने बीमा शुल्क बार्षिक ४ प्रतिशत अर्थात १४ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ ।

समितिले स्वीकृत गरेको अर्काे बीमालेख दुर्घटना लघुबीमा कार्यक्रमको हो । यसमा अधिकतम बीमाङ्क रकम १ लाख ५० हजार रुपैयाँ छ । अर्थात यो कार्यक्रममा सहभागी भएका ब्यक्तिहरुले बढीमा १ लाख ५० हजार रुपैयाँसम्म बीमा दाबी भुक्तानी पाउने छन् । यस्तो कार्यक्रमको बीमा शुल्क बार्षिक ०.१ प्रतिशत अर्थात बार्षिक १५० रुपैयाँ बीमा शुल्क तिर्नुपर्नेछ ।

पशु तथा पन्छी लघुबीमा कार्यक्रमको अधिकतम रकम पनि १ लाख ५० हजार रुपैयाँ नै तोकिएको छ । यस्तो कार्यक्रममा सहभागी हुन चाहने ब्यक्ति वा फर्मले बार्षिक बीमाङ्क रकमको ५ प्रतिशत रकम बीमा शुल्क तिर्नुपर्ने हुन्छ । अर्थात १ लाख ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी पाउने गरी पुश तथा पन्छी लघुबीमा कार्यक्रमको लागि बार्षिक बीमा शुल्क ७ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

बाली लघुबीमा कार्यक्रममा भने लागतमा अधिकतम ५० हजार रुपैयाँसम्मको बीमा गराउन पाइनेछ । यस्तो बीमा कार्यक्रमको शुल्क पनि ५ प्रतिशत नै तोकिएको छ । अर्थात ५० हजार रुपैयाँको बीमा गराउनको लागि बार्षिक २ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ ।

लघुबीमामै समेटिएको म्यादी लघुजीबन बीमा कार्यक्रममा अधिकतम १ लाख ५० हजार रुपैयाँसम्मको बीमा गराउन पाइनेछ भने साबधिक लघु जीबन बीमा कार्यक्रममा बढीमा १ लाख रुपैयाँसम्मको बीमा गराउन पाइनेछ । यी दुबै कार्यक्रमको बीमा शुल्क भने उमेर अनुसार फरक फरक हुन सक्छ ।

यस्तो कार्यक्रमले थोरै आम्दानी भएका गरिब र किसानलाई फाइदा पुग्ने बीमा समितिको भनाइ छ ।


पुष्प दुलाल