एनसेलले सुरु गर्यो फोरजी सेवा, ३ दिनका लागि १ जीबी डाटा फ्रि



काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सुरु
गरेको छ । सेवा सुरु गरेको अवसरमा ३ दिनका लागि १ जीबी डाटा फ्रिमा दिएको जनाएको छ ।

नयाँ फ्रिक्वेन्सी नबढाई ०६४ सालमै दिएको फ्रिक्वेन्सी अनुसार एनसेलले बिहीबारदेखि फोरजी सेवा सुरु गरेको हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ९ सय मेगाहर्ज ब्यान्ड र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता बमोजिमका सेवा सुरु गर्न अनुमति दिएको हो । प्राधिकरणले दिएको अनुमति अनुसार नै एनसेलले फोरजी सेवा सुरु गरेको हो ।

एनसेलले राज्यलाई तिर्नुपर्ने २४ अर्ब रुपैयाँ पुँजीगत तिर्न बाँकी रहेकाले फोरजी लगायतका सबै प्रकारका व्यवसाय विस्तार गर्ने योजना अस्वीकृत गर्नु भन्ने लेखा समितिको निर्देशन दिएको थियो ।

तर, एमाले नेता रविन्द्र अधिकारी सभापति रहेको विकास समितिले एनसेललाई फोरजी सेवा दिन प्राधिकरलाई निर्देशन दिएको थियो । विकास समितिको निर्दशन अनुसार एनसेललाई फोरजीको अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

त्यसो त प्राधिकरणले लेखा समितिको निर्देशनको पनि पालना गरेको अर्यालले बताए ।

‘विकास समितिले फोरजी सेवा दिनु भन्ने निर्देशन दियो, लेखा समितिले पनि व्यवसाय विस्तारका योजना अस्वीकृत गर्नु भन्यो । हामीले दुबै समितिको निर्देशनको पालना गर्दै पुरानै फ्रिक्वेन्सीमा एनसेललाई फोरजी सेवा सञ्चालनको अनुमति दिएका हौं,’ उनले भने ।

एनसेलले ६ महिनाभन्दा अघि नै फोरजी सञ्चालनको अनुमति माग्दै प्राधिकरणमा आवेदन दिएको थियो ।


पुष्प दुलाल