बिरामीको स्वीकृतिबिना प्रयोगशालाको नमूना संकलन विदेश पठाउन नपाइने



काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिरामीको प्रयोगशाला परिक्षणको नमूना विदेश पठाउनुअघि अनिवार्यरुपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य प्रयोगशाला परिक्षणसम्बन्धी अस्तव्स्त रहेको विद्यमान व्यवस्थामा सुधार ल्याउन सरकारले अनिवार्य स्वीकृति गर्नुपर्ने व्यवस्था गरेको हो ।

स्वास्थ्यमन्त्री गगन थापाको प्रस्ताबमा केही दिनअघि मन्त्रिपरिषदले ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशिका- ०७३’ पारित गरेको थियो ।

सो निर्देशिका कार्यान्वयन गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति लिएर मात्रै स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न सक्ने जनाएको छ ।

निर्देशिकाको दफा ९ को व्यवस्थाअनुसार कुनै प्रयोगशालाले संकलन गरेको नमुना देशभित्रै वा देशबाहिरका अन्य प्रयोगशालामा परिक्षण गराउन पठाउँदा सेवाग्राहीको लिखित अनुमति लिनुपर्ने व्यवस्था छ ।

यसरी देश बाहिर नमुना पठाउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनिवार्यरुपमा स्वीकृति लिनुपर्ने हुन्छ ।

‘देशभित्रै प्रयोगशालाका लागि योग्य हुने र देश बाहिरका प्रयोगशालामा नमुना परिक्षणका लागि पठाउन सक्ने प्रयोगशाला कम्तीमा बी समूहको हुनुपर्ने निर्देशिकामा उल्लेख छ,’ स्वास्थ्य प्रयोगशालाले शुक्रबार सूचना प्रकाशित गर्दै भनेको छ,- ‘बी समूहको अनुमति लिन आउनका लागि प्रयोगशालाहरुलाई जनस्वास्थ्य प्रयोगशाला कार्यालयले सार्वजानिकरुपमा आह्वान गरेको छ ।


पुष्प दुलाल