अत्याबश्यक औषधिको आपूर्ति ठप्प पार्ने औषधि आयातकर्ताको घोषणा



काठमाडौं । औषधि आयतकर्ताले आफ्ना मागहरु तत्काल पूरा नभए अत्याबस्यक औषधि समेतको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुलाई कालो बजारीया भनेको र औषधिको मुल्य घटाउ भन्ने प्रस्ताब गर्दा बेवास्ता गर्दै अनावश्यक लान्छना लगाएको भन्दै ब्यबसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।

औषधि आयातकर्ताहरुको साझ सस्था नेपाल औषधि आयतकर्ता संघले बिहिबार पत्रकार सम्मेलनमार्फत् अत्यावश्यक औषधिको आपूर्ति ठप्प पार्ने जानकारी गराएका छन् ।

नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष अन्जन पुडासैनिका अनुसार मन्त्री गगन थापाले सस्तो लोकप्रियता कमाउनका लागि आयात हुने औषधिमा ४ सय देखि २२ सय प्रतिशतसम्म मुनाफा हुने गलत प्रचार गरेको आरोप लगाए ।

साथै स्वदेशी औषधि उद्योगीहरुको दबाबमाआई गठन गरेको कार्यदलको प्रतिवेदनलाई आधार मानी लगभग ३५ प्रकारका गुनस्तरीय औषधिको आयातमा रोक लगाउने घातक निर्णयसमेत गरेको उनको आरोप छ ।

‘मन्त्रीले आफ्नो घातक पूर्णनिर्णय नसच्याएसम्म र आयातकर्ताको १५ बुँदे माग पुरा नभएसम्म चरणबद्ध आन्दोलन गरिने छ, आन्दोलनका क्रममा अत्याआबश्यक औषधिको आयातसमेत ठप्प पार्ने छौ,’ पुडासैनीले भने,- ‘यसबाट गम्भिर प्रकृतिका बिरामीको उपचारमा पर्न सक्ने असुबिधाको सम्पूर्ण जिम्मेबारी स्वास्थ्य मन्त्रालय र औषधि ब्यबस्था विभाग हुनेछ ।’

यस्ता छन्, औषधि आयातकर्ताका आन्दोलनका कार्यक्रम

-बैशाख २९ गते औषधि व्यवस्था विभागमा मुखमा कालो पट्टी बाँधी ज्ञापन पत्र बुझाउने ।

-जेठ २ गते औषधि व्यवस्था विभागमा मुखमा कालो पट्टी बाधी धर्ना दिने ।

-जेठ ७ गते सांकेतिक विरोध स्वरुप सम्पूर्ण आयातकर्ताहरुले बिलिङ्ग बन्द गर्ने ।

-जेठ ८ गते सोही क्रमलाई निरन्तरता दिदै आयातसमेत ठप्प गर्दै जाने ।


पुष्प दुलाल