नेप्सेका सबै उपसुचक हरियो, ८ अंकको वृद्धि




काठमाडौं । बिहिबार नेप्से ७.७७ अंकले बढेर १६५८.५८ अंक पुगेको छ । कारोबार रकममा पनि सुधार आएर ९१ करोड ७१ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार नेप्सेमा ठूलो उतारचढाव आएन, स्थिर जस्तै भयो । चुनाव नजिकिंदै जाँदा नेप्सेबाट आम लगानीकर्ताको ध्यान नेप्सेबाट चुनाव तिर मोडिनु् स्वभावीकै पनि हो । धेरै लगानीकर्ताहरु भोट हाल्न वा आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन गृह जिल्ला तर्फ लागिसकेको अवस्था पनि छ ।

शान्ति पूर्ण स्थानीय निकायको चुनाव, निर्वाचित जनप्रतिनिधीहरु, उनीहरुले आगामी दिनहरुमा जनतासँगको सहकार्यमा चलाउने बिकास निमार्णको कार्यक्रम र यस चुनावमा भएको सरकारी खर्चले बित्तीय ब्यवस्थामा पार्ने प्रभाव आदिले सेयर बजारको आगामी दिशा तय गर्ला ।

बिहिबार १४७ कम्पनीको २० लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ । साथै, सबै उपसूचकहरुमा हरियाली छाएको छ । बैंकिङ ३.९, ट्रेडिङ १.४१, होटल ६.४४, बिकास बैंक १.९२, जलबिद्युत १९.२, बित्त ४.९४, बीमा ४५.४६, उत्पादन ८.०५ र अन्य १८.५१ अंकले बढेका छन् ।

सनराइज बैंकको सबैभन्दा बढि ७ करोड ४९ लाख रुपैंयाँको करोबार भएको छ । यसैगरी बल्र्ड मर्चेन्टको ५ करोड, सानिमा माइ हाइड्रोकोे ४ करोड ९८ लाख र नेपाल लाइफको ३ करोड ३१ लाख रुपैंयाँको कारोबार भएको छ ।

बिहिबार दुई कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशतले कमाएका छन् । दिब्यश्वरी हाइड्रो र रिडी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत हाराहारीले कमाएका हुन् ।

यसैगरी साहारा बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि ७ प्रतिशतले गुमाएका छन् । बुटवल पावर, सानिमा माइ हाइड्रो र कञ्चन बिकास बैंकका लगानीकर्ताले पनि ३ प्रतिशत भन्दा माथिले गुमाएका छन् ।


पुष्प दुलाल