नेपालमा सुरक्षा नभएकाले भारतीय लगानी नआएको होः राजदूत उपाध्याय



भैरहवा । नेपालमा लगानी असुरक्षित भएको महसुस गरेर भारतीय लगानीको दर घटेको भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले बताएका छन् ।

भर्खरै काठमाडौँमा सकिएको लगानी सम्मेलनमा नेपालमा भारतको लगानी दर घटेको देखिनुको मुल कारण, लगानीको असुरक्षा नै भएको राजदूत उपाध्यायले दाबी गरे ।

उपाध्यायले बन्द हड्तालका कारण लगानीको सुरक्षामा चुनौती थपिएको बताए । भारतको सहयोगमा बन्ने हुलाकी मार्ग छिट्टै निर्माण हुने जनाउँदै हुलाकी मार्गको दायाँबायाँको अतिक्रमण हटाउनको लागि स्थानीय निकायले भूमिका खेल्न उनले आग्रहसमेत गरे ।

उपाध्यायले भारतमा रहेका ५०औँ लाख नेपालीभाषी भारतीयले नेपालको समृद्धि चाहेको जनाउँदै निजी क्षेत्रले विशेष सेल बनाएर सरोकारवालाको ध्यान तत्काल समस्या पर्दाको बखत नै आकर्षण गर्नुपर्ने बताए ।

उनले भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमबीच नयाँ सम्झौता भएपश्चात् नेपालमा तेलको सङ्कट नहुने जिकिर गरे ।

भारतमा भइरहेको निर्वाचनका कारण भारुको समस्या बढेको जनाउँदै केही समयमै नेपालमा रहेका सबै भारु साटिने समेत उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार भैरहवामा राजदूत उपाध्यायलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

उपाध्यायलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, भैरहवा भन्सार कार्यालय प्रमुखलगायत व्यापारी प्रतिनिधिले सीमा क्षेत्रमा लागुऔषधको समस्या समाधान, डिडी र विनविन कम्पनीको नाममा भइरहेको मानव तस्करी रोकथाम, भारतमा बैंक खाता खोल्दाको समस्या जस्ता विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।


पुष्प दुलाल