काठमाडौं महानगरपालिकामा अब कागजी डकुमेन्ट चल्दैन



काठमाडौं । काठमाडौं महानगरपालिकाले सेवाग्राहीलाई कागजी डकुमेन्टको झन्झटबाट मुक्त गर्ने भएको छ । त्यसका लागि महानगरले कम्प्युटर सफ्टवेर प्रणालीबाट सेवा दिन थालेको हो ।

महानगरका १३ वडा कार्यालयबाट सफ्टवेयर सेवा सुरुवात भइसकेको महानगरका राजस्व विभाग महाशाखा प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।

‘महानगरले १३ वटा वडा कार्यालयमा सफ्टवेरमार्फत सेवा दिन थालिसकेको छ,’ काफ्लेले क्लिकमाण्डूसँग भने,– ‘सुरुवाती दिनमा कर्मचारीलाई सफ्टवयर प्रणालीमा काम गर्न असहज हुने भएकाले प्रशिक्षकलाई सँगै राखेर काम गराइरहेका छौं ।’

अहिलेका लागि महानगरले कर र सिफारिसका काम सफ्टवेयर प्रणालीमा ल्याएको उनको भनाई छ ।

सफ्टवेरबाट सेवा लिन के गर्नुपर्छ ?

महानगरले सेवाग्राहीलाई सफ्टवेयर प्रणालीमा ल्याउनका लागि अहिले दर्ता नम्बर जारी गरिरहेको छ । सेवाग्राहीको डकुमेन्ट स्क्यान गरेर दर्ता नम्बर वितरण गरिरहेको उनले जानकारी दिए ।

काफ्लेका अनुसार एकपटक सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसेकेपछि महानगरबाट काम लिनका लागि डकुमेन्टको झन्झट लिनुपर्ने छैन । दर्ता नम्बर मार्फत् नै सम्पूर्ण काम गर्न सकिन्छ ।

कहाँ कहाँ सुरु भयो ?

महानगर पहिलो चरणमा ०७३ माघ १० देखि ७ वडा कार्यालय ६, ७, ९, ३१, ३२, ३४ र ३५ बाट सफ्टवेर सेवाको सुरुवात गरेको हो ।

त्यसैगरी, दोस्रो चरणमा ०७३ फागुन २३ देखि ६ वटा वडा कार्यालय ४, ८, १४, १५, २३, २९ र ३३ मा सफ्टवेयर प्रणालीबाट सेवा दिन थालिएको छ ।

आगामी केही महिनाभित्र महानगरका सबै वडाले सफ्टवेर प्रणालीमार्फत सेवा दिने उनको भनाई थियो ।

‘सफ्टवेयर प्रणाली सफल भएपछि महानगरले अनलाइन सेवा सुरु गर्नेछ,’ काफ्लेले भने,– ‘अनलाइन प्रणाली सुरु भएपछि सेवाग्राहीले घरमै बसेर महानगरेको सेवा लिन सक्नेछन् ।’


पुष्प दुलाल