एनजिओको जागिर छाडेर गाई पाल्न थालेपछि, जिल्लाकै हिरो बने श्रेष्ठ



डोटी । अधिकांस पढेलेखेका युवाहरुको उद्देश्य हुन्छ-जागिर । तर, समाजमा यस्ता मान्छेहरु पनि भेटिन्छन्, जो छँदाखाँदाको राम्रो जागिर छोडेर समाज परिवर्तन गर्न भन्दै कृषि पेशामा लाग्छन् ।

देशमा उत्पादकत्व बढाउने उद्देश्यले पछिल्लो समय युवाहरु व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका समाचारहरु आउन थालेका छन् । हो, आज हामी यस्तै समाचार प्रस्तुत गर्दैछौं ।

डोटीका एक ३८ वर्षे युवाले वकिल पेसा र एनजिओको जागिर छाडेर गाई पालन सुरु गरेका छन् । रुचिकै कारण आफु कृषि पेसामा लागेको बताउँछन् उनी ।

करिब ३० लाखको लगानीमा सिलगढी नगरपालिका- ६ स्थित चिसापानीमा १६ वटा गाई पालेका उनलेले प्रतिदिन ६० लिटरभन्दा बढी दूध बजारमा पठाउने गरेका छन् ।

कानुन व्यवसयसंगै काठमाडौँमा ८ वर्षसम्म एनजिओको जागिर खाएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आएका थिए ।

यसबाट सन्तुष्ठ नभएपछि उनले आफ्नै गृहजिल्ला डोटीमा गएर गाईपालन व्यवसाय सुरु गरेका हुन् । जिल्लाको समष्टिगत विकासका निम्ति आत्मनिर्भर हुन व्यवसाय गर्नुपर्छ भन्ने सोचले आफूले यस व्यवसाय अङ्गालेका श्रेष्ठले बताए ।

‘आफ्नो बाल्यकालदेखिको रुचि कृषि व्यवसाय नै थियो तर समय र परिस्थितिले कानुन व्यवसायी र एनजिओकर्मी बनायो,’ उनले भने,- ‘रुडुक भन्ने संस्थामा जागिरे हुँदा डोटीलगायतका नेपालका धेरै ठाउँ घुम्दा व्यावसायिक रुपमा गरेका गाई, भैंसी, बाख्रा, कुखुरापालनले त्यसैबेलादेखि नै मनमा डेरा जमाइसकेको थियो । अन्तत आफ्नै जन्मभूमि डोटीले आफूलाई यो व्यवसायतर्फ तानेको हो ।’

व्यवसयका लागि डोटीमा प्रशस्त सम्भावना छन् तर सिस्टम नभएको उनको भनाई छ । त्यसका निम्ति आफू नै अग्रसर भएको उनले बताए ।

डोटीमा गाईभैंसी, बाख्रा, कुखुरा नपाल्ने कोही छैनन् । तर ती सबै निवार्हमुखी मात्रै बनेका छन् । खानकै लागि ऋण काढेर दुहुनो गाईभैंसी खोज्ने तर दुहुन छुटेपछि थोरै मूल्यमा बिक्री गर्ने, पुनः ऋण काढेर अर्को खोज्ने गर्नाले यहाँ झन गरिबी बढेको उनको भनाइ छ ।

कतिपय युवा यो पेसा गर्न अपठेरो मान्ने तर भारतलगायत खाडीमूलुकमा श्रम बेच्न जाने उनीहरुको कामको कुनै निश्चित छैन तर पनि जोखिमपूर्ण काम गर्न बाध्य बनेका छन् । आफ्ना लागि कमाएर खानका निम्ति जमिन नभएका कोही छैनन् तर सोच नै गरिब भएका कारण उनीहरु झन गरिब बन्दै गएको देखिन्छ भन्नुहुन्छ व्यवसायी श्रेष्ठ ।

करिब ३० लाखको लगानीमा सिलगढी नगरपालिका-६ स्थित चिसापानी भन्ने ठाउँमा १६ वटा गाई पालेका उनलेले प्रतिदिन ६० लिटरभन्दा बढी दूध बजारमा पठाउने गरेको र ५ जनालाई रोजगारी पनि दिएका छन् ।

यस व्यवसायले सिलगढीमा दूधको आपूर्ति सहज भएको छ । भनेको समयमा यहाँका होटेल व्यवसायीले दूध पाएका छन् ।

डोटीमा अहिलेसम्म व्यावसायिक रुपमा गाईपालन नभएकाले बजारमा पनिर, चिज खोज्दा नपाइने गरेको तीतो यथार्थ समेत श्रेष्ठले सुनाए ।

डोटीस्थित सेती प्राविधिक शिक्षालयको भेटनरी तर्फका विद्यार्थीका लागि रिसर्च सेन्टर बनाउने सोचमा रहेका उनले आगामी दिन गाईको गहुँत र गोबरसमेत बिक्री हुने आशा गरेका छन् ।

सिङ्गो सुदूरपश्चिमका युवाको प्रतिनिधित्व गर्दै गाई पालनमा उदाहरणीय पात्र बनेका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्मालगायतका जिल्लाका सरकारी र गैरसरकारी निकायले सुभेच्छासमेत दिएका छन् ।