बीमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन नियमित गर्ने



काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ ।

संस्थानको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती)का अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बीमाङ्कीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो ।

बीमाङ्कनबाट बीमा व्यवसाय (जीवन,निर्जीवन र पुनःबीमा)मा बीमालेख तयार गर्न,बीमा शुल्क निर्धारण गर्न,बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन,बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ ।

संस्थानका प्रशासक अस्वीनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिए । उनले भने,’विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउनेतर्फ विश्वास दिलाउँछु ।’

संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रुपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तररुपमा अगाडि बढाउने संस्थानले जनाएको छ । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागिपरेको ठाकुरले जानकारी दिए ।

संस्थानले  माथिल्लो तामाकोसी जलविद्युत् आयोजना,जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा १५ अर्ब रुपैयाँ लगानी गरेको छ ।

अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुन्यप्रसाद रेग्मीले बीमा व्यवसायको विकासमा संस्थानको भूमिका अग्रणी रहेको उल्लेख गर्दै जीवन बीमामार्फत बाहिरिँदै आएको रकमलाई नियन्त्रण गर्नुपर्ने बताए ।

राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले संस्थानले विगतको छविलाई समीक्षा गरी संस्थालाई पुनःजीवन दिन इमान्दारिताका साथ अगाडि बढ्न र ग्राहकसँगको विश्वासलाई अक्षुण राख्न सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थानमा २० वर्षदेखि अभिछिन्न रुपमा काम गर्दै आएका कर्मचारीलाई दीर्ग सेवा पदक तथा कदरपत्र र बढी व्यवसाय गर्ने अभिकर्तालाई पुरस्कार प्रदान गरियो ।

त्यसैगरी संस्थानको स्थापनाकालको संस्थान सञ्चालक समितिका अधयक्ष डा भेषबहादुर थापा, कर्मचारी कुवेरप्रसाद शर्मा, सिद्धिमान बस्न्यात, इन्द्रप्रसाद कर्माचार्य र रघु पन्तलाई सम्मान गरिएको थियो ।


क्लिकमान्डु