तलरता अभावले घरजग्गा व्यवसायमा कुनै असर पर्दैनः व्यवसायी



काठमाडौं । तरलता अभाबको कारण देखाउदै बैंकहरुले लगानीमा कटौति गरेपनि आफूहरुको ब्यवसायमा कुनै समस्या नभएको घरजग्गा ब्यवसायीले बताएका छन् ।

घरजग्गा तथा रियलस्टेट ब्यवसायमा बैंकहरुको लगानी कम भएकोले अहिले कर्जा प्रबाहमा कटौति गरेपनि समस्या नआउने नेपाल जग्गा तथा आवाश विकास संघका अध्यक्ष इच्छाराज तामाङले बताए । बैंकको लगानी नै कम भएकोले कर्जा कटौतिको असर यो क्षेत्रमा नपर्ने तामाङको भनाइ छ ।

‘यो क्षेत्रमा बैंकहरुको कुल लगानीको १४ प्रतिशत भन्दा बढि लगानी छैन्, यसैले तरलता अगाडि पनि असर थिएन, अब पनि पर्ने देखिदैन,’ अध्यक्ष तामाङले भने । घरजग्गा व्यवसायमा प्रोजेक्ट फाइनान्सिंग निकै कम रहेको हुँदा पनि कुनै असर नपर्ने उनको भनाई छ ।

बजारमा तरलता संकट चुलिँदै गएपछि बैंक तथा वित्तीय संस्थाले हाउजिङ तथा भवन निर्माण क्षेत्रमा ऋण दिन नसक्ने अवस्था आएको सिर्जना भएको छ । बैंकमा रकमको अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ ऋण दिनेभन्दा पनि पुरानो ऋण असुलीलाई प्राथमिकता दिन थालेका छन् । यसबाट घर–जग्गाको कारोबार घट्ने अनुमान गरिएकै समयमा अध्यक्ष तामाङले यस्तो बताएका हुन् ।

बैंकिङ क्षेत्रबाट गरिएको कर्जा लगानीलाई अनुत्पादक क्षेत्रतर्फ बढी गयो भनेर चिन्ता गरिरहनु आवश्यक नभएको उनको भनाइ छ । ‘बैंकहरुलाई अहिले गरेको लगानी अनुत्पादक भयो भनेर भन्नुको कुनै अर्थ छैन, यस्तो आरोप लगाउनुको साटो अन्य सरल उपायहरु थिए,’ सिभिल बैंकको अध्यक्षसमेत रहेका तामाङले भने ।

अहिलेको राष्ट्र बैंकले चालेको कदमले आफैंले आफैंलाई समस्यामा पारेको घोषणा जस्तो भएको उनको आशय छ। ‘यो त घरको मुली बाबुले घरका सबै जँड्याहा भए भनेर सार्वजनिक रुपमा भने जस्तो भयो, आफैंले फुक्दै हिँडेपछि त्यो घरको बदनाम हुनु स्वभाविक हो,’ उनले भने ।

संघले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका अपार्टमेन्टहरूमा मात्रै १ खर्ब २५ अर्ब रुपैयाँ लगानी भएको छ । यसमध्ये ४२ अर्ब रुपैयाँ बैंकहरूको लगानी हो भने बाँकी ८३ अर्ब रुपैयाँमध्ये आधा व्यवसायी र आधा सर्वसाधारण ग्राहकको लगानी हो ।


क्लिकमान्डु