कोकाकोला, जसले ‘सीएसआर’लाई विश्वव्यापी बनायो



मान्छेको जीवनपद्दती वा जीवन जिउने तरिकालाई सामान्यतः संस्कृति भनिन्छ । खानपान, भेषभुषा, कला साहित्य, धर्म आदि संस्कृतिकै अवयवहरु हुन् । वास्तवमा मानिसले समय, काल, परिस्थिति, राजनीति, अर्थतन्त्र र वातावरणसँग गर्ने अन्तरक्रियात्मक सम्बन्धका आधारमा संस्कृतिको विकास गर्छ ।

यस हिसाबले श्वि मानचित्रको विभिन्न कुनामा बस्ने मानिसका संस्कृति फरक–फरक हुनु स्वभाविक नै हो । तर, कहिलेकाहिँ एउटा सामान्य उपभोग्य बस्तुले पनि यी तमाम संस्कृतिहरुबीच केहि समानताको रेखा कोर्न सफल हुँदो रहेछ । वा भनौं यी फरक–फरक संस्कृतिहरुलाई जोड्ने तन्तुको रुपमा काम गर्दो रहेछ ।

सात समुद्रपारीको कुनै बिकसित देशका नागरिकहरुले १२० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी कुदाउँदै गर्दा गियर बक्स नजिकै थपक्क राखेर चुस्की लगाउनै पर्ने । यता नेपालमा उकाली ओराली गरेर चौतारामा सुस्ताउँदै गर्दा पनि घुट्काउनै पर्ने । क्रिसमसमा ‘रोस्टेड टर्की’ को छाती चक्कुले काटेर काँटाले घोच्दै चपाएपछि पनि घुटुक्क पार्नैपर्ने । यहाँ नेपालमा दशैंमा खसीको भुटन चिउरा सँगै गाला चर्किने क्राँक्राको अचार खाएपछि पनि पिउनै पर्ने ।

४० प्रतिशत ‘अल्कोहल’ भएको कडा मादक पदार्थसँग पनि मिल्ने । त्यस्सै बाटोमा घुटुघुटु पार्दै हिँडे पनि हुने । धनीका पनि धनी वारेन बफेटले पनि हरेक बिहान पिउने, गरिबका पनि गरिब कुनै मजदुरले कम्तिमा ज्याला बुझेको दिनमा त चुस्स पार्ने ।

यस्तो अन्तरसंस्कृतीय, अन्तरदेशीय र अन्तरबर्गीय पेय पदार्थ कोका कोलाको (कोक) उत्पादन अमेरिकामा १९औं शताब्दिको उत्तरार्धतिर जोन पेम्बरटन नामक ब्यक्तिद्धरा दुर्घटनावश भएको हो भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला ।

वास्तवमा ‘दुर्घटना’ आविष्कारको जननी हुँदो रहेछ । कुनै पनि ‘दुर्घटना’ बिना सिधा बाटोमा चलिरह्यो भने त कर्मकाण्ड पो हुन्छ । तर, ‘दुर्घटना’ को सदुपयोग गर्न भने जान्नुपर्छ ।

औषधी बनाउन खोज्दा दुर्घटनावश बनेको त्यस तरल पदार्थले नजाने कस-कसको शुशुप्त अवस्थामा रहेका इन्द्रियहरुलाई तरङ्गित ग¥यो, असा ग्रिग्स क्यान्डलर नामका ब्यापारीले यसलाई किने । र, उनकै बजार रणनीतिले २० औं शताब्दीमा कोकलाई विश्व सफ्ट ड्रिङ्कस बजारको नेता बनायो ।

नामले बताएझैं ‘कोला नट’ नामक फल र ‘कोका’ नामक बिरुवाको पातको समिश्रणबाट बनाइन्छ यो पेय पदार्थ । तर, आजका दिनसम्म पनि त्यो समिश्रणको सुत्र भने सार्वजनिक गरिएको छैन । यद्यपि आजको प्रतिस्पर्धात्मक दुनियाँमा अरुले पनि आफ्नै हिसाबले अध्ययन अनुसन्धान गर्दै त्यस्को नजिकै पुग्नु आश्चर्यजनक कुरा भने होइन ।

अमेरिकाको अट्लान्टामा रहेको कोकाकोला कम्पनीले यसको ‘कन्सन्ट्रेट’ बनाउँछ र बिश्वभरि छरिएर रहेका आफ्ना ‘बोट्लर्सहरु’ कहाँ पठाउँछ । तिनै ‘बोट्लर्सले’ सो ‘कन्सन्ट्रेट’ मा पानी र अन्य गुलिया पदार्थ मिसाएर कोकलाई अन्तिम रुप दिई प्याकेजिङ समेत गर्छन् र बजारमा पठाउँछन् ।

अमेरिकी गृहयुद्धमा लड्दा घाइते भएपछि ‘मोर्फीन’ नामको नदुख्ने औषधी सेवन गर्ने बानी नै लागेपछि त्यसबाट मुक्ति पाउन जोन पेम्बरटनले कोकको रेसिपी बनाएका थिए । त्यहि रेसिपिबाट सुरु भएको कोकको इतिहास सन् २०१५ मा आइपुग्दा ४४ अर्ब २९ करोड डलरको कारोबार गर्ने भैसकेको छ । साथै, उत्पादनमा पनि निकै विविधता आइसकेको छ । कोकका अलावा स्र्पाइट, फ्यान्टा, डाएट कोक, कोकाकोला जिरो लगायत उत्पादन पनि कोकाकोलाकै हुन् ।

सन् २०१५ मा गरिएको एक अध्ययनले कोकाकोला विश्वकै तस्रो महत्वपूर्ण ब्राण्ड रहेको तथ्य सार्वजनिक गरेको थियो । सन् २०१३ मा २०० वटा देशमा कोकाकोलाका उत्पादनहरु बिक्री भएका थिए भने दैनिक १ अर्ब ८ करोड मानिसले कोकाकोलाका उत्पादनहरु पिउने गर्छन् ।

कोकाकोलाको सञ्जाल क्युबा र उत्तर कोरिया बाहेक बिश्वको सबै देशमा फैलिएको छ । बर्मामा अमेरिकी प्रतिबन्धका कारण केहि समय बन्द भएको कोकको बिक्री बितरण सन् २०१२ बाट सुचारु भैसकेको छ ।

रेसिपी र बजार रणनीति त एउटा पाटो मात्र हो । बिश्व संस्कृतिको अभिन्न अंग बन्न बिश्व भरिका मानिसको मन कसरी जित्नु पर्छ भन्ने कुरा अरु कम्पनीले सिक्नुपर्छ कोकाकोलाबाट ।

अहिले हामीले देख्दै आएको क्रिसमसको ‘सान्ता क्लज’ कोकाकोलाले नै बनाएको हो भन्ने थाहा पाउँदा कोकाकोलाले आम मानिसको संस्कृतिमा कसरी जरो गाडेको छ भन्ने कुरा बुझ्न धेरै मद्दत पुग्छ । कोकाकोलाकै बिज्ञापन क्याम्पेन अनुसार अहिलेको सान्ता क्लजको सृजना कलाकार ह्याडन सन्डबोल्मले सन् १९३१ मा गरेका थिए । त्यो भन्दा अगाडि अग्लो र मानविय संवेदना खासै नभएको सान्ता प्रचलनमा थियो । अहिले हामीले देख्ने सेतो दाह्री भएको, हँसिलो र मानविय लाग्ने सान्ता कोकाकोला कै अग्रसरतामा सृजना गरिएको हो ।

हाम्रोमा भर्खरै शुरु भएको तर खासै गम्भिरताका साथ नलिइने ‘संस्थागत सामाजिक उत्तरदायित्व’ पनि कोकाकोला बिश्वब्यापी हुनुको प्रमुख कारण हो । सन् १९२८ को ओलम्पिक खेल, सन् १९९६ को समर ओलम्पिक, सन् १९७८ को बिश्वकप फुटबलका साथै सन् १९९६ मा भारतीय उप–महाद्धिपमा आयोजना गरिएको क्रिकेट बिश्वकप जस्ता ठूला खेलकुद प्रतियोगिताको प्रायोजक रहिसकेको छ, कोकाकोला ।

अहिले भारतमा बार्षिकरुपमा चल्ने इन्डियन प्रिमियर लिगको क्लब डिल्ली डेरडेभिल्सको समेत प्रायोजक कोकाकोला नै हो । अनि त ‘ठण्डा मतलब कोकाकोला’ जस्ता स्लोगन भारतीयहरुको मुखमा झुण्डिएको छ ।

‘चिसो भनेकै ककाकोला’ भनेर चल्ने नेपालमा पनि कोकाकोलाले नेपाली फुटबलको बिकासका लागि एन्फालाई प्रयोजन गरिसकेको छ ।

बैश्य युगको धर्म पालना गर्ने भन्दै कमसल सामान बढि मूल्यमा भिडाउने र ‘संस्थागत सामाजिक उत्तरदायित्व’ मा खासै चासो नराख्ने कर्पोरेट हाउसहरुले कोकबाट सिक्नु पर्ने कुरा यही हो ।

कुनै पनि उद्योग, उद्योगपति वा उत्पादन समाजको मुलधारमा स्थापित हुन आमजनताको मन मश्तिष्कमा बास त गर्नैपर्छ ।