भूकम्पबाट भएको क्षतिको बीमा दाबी भुक्तानी करिब सकियो




काठमाडौं । भूकम्पपछिको बीमा दाबी भुक्तानी लगभग सकिएको छ । भूकम्पको कारण क्षति पुगेका संरचनाहरुको क्षतिपूर्ति बापत बीमा कम्पनीहरुले दाबी भुक्तानी गरेका हुन् ।

०७२ साल बैशाख १२ मा गएको भूकम्प र त्यसपछिका निरन्तर पराकम्पका कारण बीमा कम्पनीहरुमा १७ हजार ७ सय संख्यामा दाबी परेर १६ अर्ब ८९ करोड रुपैयाँको भुक्तानी माग भएको थियो ।

भूकम्प गएको २२ महिना हुन लाग्दा बीमा कम्पनीहरुले दाबी भुक्तानीलाई लगभग पूरा गरेको बीमा समितिले जानकारी दिएको छ ।

समितिका अनुसार परेको दाबी संख्यामा ९३.९५ प्रतिशत फछ्र्योट भएको छ । रकममा भने दाबीको ७४.२८ प्रतिशत भुक्तानी बीमा कम्पनीले दिएका छन् ।

बीमा कम्पनीका निर्देशक राजुरमण पौडेलले दाबी भुक्तानीको अधिकांश काम सकिएको बताए ।

‘केही ठूला परियोजना र विबादितको दाबी भुक्तानी बाँकी छ, अरु भुक्तानीको काम सकिएको छ,’ समितिका निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने ।

समितिका अनुसार धापासीको पार्क भ्यु होराइजन सहित केही जलविद्युत् आयोजनाको बाहेक सबै बीमा दाबीको भुक्तानीको काम सकिएको छ । कुल दाबीमा ५ हजार ८ सय २४ दाबीको भुक्तानी दिनु नपर्ने सर्वेयरले रिपोर्ट दिएका थिए ।

अहिलेसम्म ७ सय ८२ ओटा दाबीको प्रतिवेदन सर्वेयरले नदिएको बीमा समितिको तथ्यांकले देखाएको छ ।

बीमा कम्पनीले १२ अर्ब ५४ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् । जसमा ६ अर्ब ३९ करोड रुपैयाँ पुर्नबीमा कम्पनीबाट आएको छ ।

सगरमाथा इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री विश्वमै विपत्तिपछिको बीमा दाबी भुक्तानीमा विश्वमै छिटो भुक्तानी हुनेमा नेपाल परेको बताए ।

‘थाइल्याण्डमा अहिलेसम्म पनि बाढी गएपछिको बीमा दाबी सकिएको छैन, सरोकारवाला सबै निकायको सहयोगमा दाबी भुक्तानीको काम सकिएको हो,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ।

बीमा समितिले भूकम्प गएको अर्को दिनदेखि नै दाबी भुक्तानी सहज बनाउन कम्पनीहरुलाई निर्देशन दिएको थियो । यस्तै बीमा कम्पनीहरुले पनि विभिन्न ठाउमा क्याम्प नै खडा गरेर दाबी भुक्तानी गरेका थिए ।

दाबी भुक्तानीको विवरण हरेक दिन बीमा कम्पनीले समितिलाई बुझाउनुपर्ने निर्देशन दिएको थियो । बीमा कम्पनीहरुले पनि दाबी भुक्तानीलाई प्राथमिकता दिएको कारण भुक्तानीको काम सकिएको हो ।

‘बाँकी रहेको दाबी भुक्तानी पनि चैतसम्ममा सकिन्छ, भूकम्पको गएको २ वर्ष नपुग्दै सम्पूर्ण भुक्तानीको काम सकिनु आफैमा राम्रो कुरा हो,’ बीमा समितिका निर्देशक पौडेल भन्छन् ।

भूकम्पबाट ७ खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएपनि बीमा दाबी १६ अर्ब रुपैयाँ बराबरको मात्रै परेको छ । यो तथ्यांकले बीमा क्षेत्र विस्तार भने नभएको देखिन्थ्यो । भूकम्पबाट करिब ८ हजार व्यक्तिको मृत्यु भएपनि जीवन बीमा कम्पनीमा ३ सय ६० जनाको मात्र दाबी परेको थियो । जसमा जीवन बिमा कम्पनीले भने सबै दाबीको ९ करोड १५ लाख रुपैयाँको भुक्तानी दिएका छन् ।


क्लिकमान्डु