वाणिज्य मन्त्री गलैँचाको विश्व प्रदर्शनी ‘डोमोटेक्स’मा सहभागी



काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको ह्यानोभर शहरमा २०७३ माघ १ देखि ४ गतेसम्म आयोजना भइरहेको गलैँचाको विश्व प्रदर्शनी डोमोटेक्समा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । वाणिज्य मन्त्री थकालीले यही माघ ३ गते नेपाल सरकारका अन्य उच्च पदाधिकारीहरुका साथ नेपाली पेभेलियनको अवलोकन गरेका छन् । उक्त प्रदर्शनीमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको समन्वयमा नेपालका तीनवटा ठुला कार्पेटका स्टल राखिएका छन् ।

विश्वभरबाट साठीभन्दा बढी मुलुकका १,३५० अन्तर्राष्ट्रियस्तरका गलैँचा उत्पादकहरूले भाग लिइरहेको सो प्रदर्शनीमा नेपालको प्रमुख निर्यात वस्तुका रूपमा रहेको हाते गलैँचाका विभिन्न प्रकारहरुलाई अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि राखिएको छ ।

प्रर्दशनीको अवधिमा यहि माघ ३ गते आयोजना गरिएको “नेपाल साँझ” नामक कार्यक्रममा वाणिज्य मन्त्री थकाललीले नेपालको प्रमुख निर्यात वस्तुको रुपमा रहेको गलैँचाको दिगो विकासका लागि सरकार प्रतिबद्ध रहेको र यसका लागि निजी क्षेत्रसँग समन्वय गरेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेतर्फ अघि बढिरहेको बताए ।

कार्यक्रमको जर्मनी लगायतका युरोपका नेपाली हाते गलैँचाका उत्कृष्ट आयातकर्ताहरुलाई सम्मान गर्दै इम्पोर्ट एक्सेलेन्स अवार्ड वितरण गरेका थिए ।


क्लिकमान्डु