भूकम्प पीडित उद्योगीहरुलाई पुनरकर्जा देऊः साना उद्योग महासंघ



काठमाडौं । सरकारद्वारा जारी पुनःउद्दार कर्जा कोष कार्यविधि अनुसार भूकम्प र नाकाबन्दी पीडित उद्योगीहरुलाई माग र उद्योगको क्षमता अनुसार पुनरकर्जाको व्यवस्था गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले माग गरेको छ ।

महासंघको नवलपरासीको अमलटारीमा बसेको केन्द्रिय कार्यसमिति र केन्द्रिय महिला उद्यमी समितिको संयुक्त विस्तारित बैठकबाट घोषणापत्र जारी गर्दै सो माग गरेको हो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले ४६ जिल्लामा लागु गरिएको महिला उद्यमशीलता विकास कोषबाट दिने गरिएको सहुलियतपूर्ण कर्जाको पाँच लाखको सिमासम्म भएको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न पनि माग गरे । स्वदेशी वस्तुको उपयोगलाई बढावा दिदै आत्मनिर्भरता तर्फको अभियान अगाडि बढाउन सरकारद्वारा जारी सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धि निर्देशिका कडाईका साथ लागू गराउन सरकारसँग माग गर्दै ७५ वटै जिल्लामा अभियान चलाउन लागिएको उनले जानकारी दिए ।

सरकारी निकायहरुले जिल्ला तहमा लघु घरेलु तथा साना उद्योगको प्रवद्र्वनका लागि सञ्चालन गर्ने कार्यक्रमहरु जानकारी दिन र यस सम्बन्धि बहस पैरवी चलाउन महासंघले ७५ वटै जिल्लामा सार्वजनिक निजी सम्वाद सञ्चालन गर्ने पनि घोषणा गरेको छ ।

भर्खरै जारी औद्योगिक व्यवसाय ऐनले साना उद्योगको पूँजी सीमा तीन करोडबाट १० करोड पुर्याएको सन्दर्भमा यस पूँजी सीमामा पर्ने उद्योगलाई सदस्यता बिस्तार गर्ने घोषणापत्रमा उल्लेख छ ।

अहिलेसम्म पनि उद्योगहरुको तथ्याङ्क अत्यन्तै परम्परागत ढंगबाट राखिएको हुँदा यसलाई उच्चस्तरको डिजिटल प्रविधि प्रयोगगरी अद्यावधिक गर्न महासंघले अभिायन चलाउने र यस महासंघका उद्यमी व्यवसायीहरुलाई डिजिटल लिङ्केजमा आवद्व गर्ने घोषणा गरिएको अध्यक्ष गिरीले जानकारी दिए ।

राजनीतिक अस्थिरता तथा गतवर्षको भूकम्प र नाकाबन्दीले मुलुकभर रहेका झण्डै तीन लाख लघु घरेलु तथा साना उद्योगहरु कठिन परिस्थितिबाट गुज्रिरहेको अध्यक्ष गिरीले गुनासो गरे ।

महासंघको सांगठनिक संरचना पनि प्रादेशिक संरचनामा रुपान्तरण गरिएको जानकारी दिएको छ । अहिले घोषित ७ वटा प्रदेशमा ७ प्रदेश संघहरु र उपत्यकाका ४ जिल्लालाई समेटी उपत्यका प्रदेश संघ समेत गरी ८ वटा प्रदेश संघ र ८ वटा प्रदेश महिला उद्यमी समिति पनि महासंघ अन्तरगत क्रियाशील छन ।

२०४७ सालमा स्थापना भएको महासंघको ७५ वटै जिल्लामा जिल्ला संघहरु रहेको र यी अन्तरगत झण्डै ३५ हजार उद्यमीहरु आवद्व छन् ।


क्लिकमान्डु