खिचापोखरी व्यापार संघमा नयाँ नेतृत्व



काठमाडौं, २ माघ । खिचापोखरी न्युरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभाले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

साधारण सभाले संघका वर्तमान अध्यक्ष मनोजबाबु श्रेष्ठ तथा वरिष्ठ उपाध्यक्ष गोपाल महर्जनलाई दोस्रो पटक सोही जिम्मेवारी दिंदै १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । जस अनुसार नरेन्द्र श्रेष्ठ प्रथम उपाध्यक्ष, गणेशकुमार न्यौपाने द्धितीय उपाध्यक्ष, भरतप्रसाद बडाल महासचिव, कृष्णप्रसाद ढुङ्गाना सचिव र कोषध्यक्ष खिलाबहादुर रोक्का बनेका छन् । संघले थप छ जना सदस्य मनोनयन गरी दुई वर्षका लागि २३ सदस्यीय कार्यसमिति चयन गर्ने बताईएको छ ।

साधारण सभाका क्रममा व्यवसायीहरुले निजी क्षेत्रको आधारबिना मुलुक अगाडि बढ्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रलाई अगाडि बढाउन नसके मुलुक अगाडि बढ्न नसक्ने बताए । श्रेण्ठले भने, ‘निजी क्षेत्रबाट तिरेको करले मुलुक चलेको छ । त्यसैले मुलुकले निजी क्षेत्रलाई बेवास्ता गर्न मिल्दैन ।’ अध्यक्ष श्रेष्ठले व्यापारीप्रति सरकारको विश्वास नहुँदा व्यापार क्षेत्रमा समस्या हुने गरेको गुनासो समेत गरे ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक धनिराम शर्माले कर नीतिको माध्यामबाट लगानी सुरक्षित गर्न व्यापारीलाई आग्रह गरे । समयसापेक्ष रुपमा प्रविधि अनुसार कर प्रणाली चुस्त बनाइदै लगेको भन्दै उनले त्यसमा अभ्यस्त हुन पनि व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरे ।

अन्य व्यवसायीले न्युरोड तथा खिचापोखरी क्षेत्रमा पार्किङको चरम समस्या रहेको भन्दै पार्किङ क्षेत्र बिस्तार गरिदिन सरकार तथा महानगरपालिकासँग आग्रह गरे । यसका लागि त्यस क्षेत्रका सबै व्यापारीहरुले सक्दो सहयोग गर्ने उनीहरुको भनाई थियो ।


क्लिकमान्डु